पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।   ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ  आयोजित कार्यक्रममा उहाँले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भन्नुभयो  ।         उहाँले भन्नुभयो, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।”   असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउनुहुँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।  अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनुभयो ।  राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।”        अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ ।  “हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।”  निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनुभयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनुभयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उहाँले जनाउनुभयो । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनुभयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उहाँको भनाइ छ ।

म्याग्दी:    अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।  अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।  कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो ।  गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो । मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।  “पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिनुभयो ।  यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।  अष्टे«लियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो ।  होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

नवलपरासी:    कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।  बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।   कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।   घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

हुम्ला:    हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।  चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।      कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।            सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।      गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।  उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।       गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । आज बिहान ७:३० बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो ।       त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाउनुभयो । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।      गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो ।      मुस्ताङको कोबाङमा वि.सं २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।         उहाँ नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।       गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।   तस्बिर: बि.बि रोका मगर                    

तनहुँ:  निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।  व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।       आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।      निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ ।  मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ ।  पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।       केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।       राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

हुम्ला:    हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ ।  शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।      अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो ।       गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।       राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।

काठमाडौं:     हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।      आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।