काठमाडौं: सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ । पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडानरअवतरणरहोभरिङ गर्नरगराउनका लागि तोकिएको राजस्व बुझाइ प्रचलित कानुनअनुसार गर्न वरिष्ठ संरक्षण अधिकृत सुषमा रानाले आज जारी गर्नुभएको सूचनामा उल्लेख छ । निकुञ्जको जैविक विविधता तथा सांस्कृतिक सम्पदा विश्वका लागि अनुपम भएकाले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९७९ मा प्राकृतिक विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक निकुञ्जको भ्रमणमा आउने गरेका छन् । जसका कारण आर्थिकरूपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र एवं रोजगारीमा टेवा पुगेको छ । निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्धार गर्न विकास निर्माणका सामग्री, खाद्यसामग्री तथा अन्य सामग्री ढुवानी गर्नेलगायतका कामका लागि निकुञ्ज क्षेत्रमा सेवा दिइरहेका निजी कम्पनीका हेलिकप्टरलाई अनुमति लिएर कानुनअनुसार उडानरअवतरणरहोभरिङ गर्नरगराउन अनुमति दिइएको उहाँले बताउनुभयो ।
काठमाडौं: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवद्र्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताउनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यकम’ मा उपप्रधानमन्त्री सिंहले कलाकारसँग भेट्न पाउँदा र सम्मान गर्न पाउँदा आफू हुर्षित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जीवन नै कलाकारितामा समर्पण गरेर योगदान दिने स्रष्टालाई सम्मान गर्नुपर्दछ । कलाकारको योगदानको कदर जति गरे पनि कम हुन्छ । कलाकारलाई राज्यले सक्ने सहयोग गर्छ ।” पुरस्कारबाट पुराना कलाकारप्रति सम्मान हुनाका साथै नयाँलाई यस पेसाप्रति रुचि बढ्न मद्दत पुग्ने उहाँको भनाइ थियो । सो अवसरमा ‘हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार’बाट केदार दाहाल, ‘हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार’बाट इन्दु पन्त, ‘क्यान आइडियल कला पुरस्कार’बाट विपिन श्रेष्ठ, ‘अमात्य कला पुरस्कार’बाट सुन्दर लामा, ‘मुल्मी ग्राफिक डिजाइन पुरस्कार’बाट राजन काफ्ले, ‘निर्वाण कला सम्मान’बाट स्मिता श्रीवास्तव र ‘सुरेन्द्र सम्मान दीर्घ कला–साधक सम्मान’बाट प्रा गोविन्दनारायण ज्यापूलाई पुरस्कृत गरिएको थियो । यसैगरी, ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट मनबहादुर विक, ‘क्यान सिग्देल आर्ट पुरस्कार’बाट डा कृष्ण ओझा, ‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट देवेन्द्र पौड्याल, ‘नारायणदेवी स्मृति पुरस्कार’बाट रवीन्द्र राजभण्डारी, ‘राजेश मानन्धर कार्टुन पुरस्कार’बाट पदम घले, ‘ज्ञानी शाह क्यान अमूर्त कला सम्मान’बाट रमेश खनाल, ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट भुवन थापा र ‘ऋचा मैनाली रिजाल स्मृति पुरस्कार’बाट प्राश्ना बुढा मगरलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो ।
सोलुखुम्बु: भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं: चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो । यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।” नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कैलाली: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ । आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उहाँले भन्नुभयो, “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।” उहाँले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।” उहाँले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउनुभयो । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उहाँले जानकारी दिनुभयो । “यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,” उहाँले भन्नुभयो । मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
सोलुखुम्बु: आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।
नवलपुर: यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझँै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।” साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उहाँको भनाइ छ । विगतमा गणना गरिएको जुरे हुटिट््याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उहाँले जानकारी दिनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ”, उहाँले भन्नुभयो । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपन्छी न्यून आएको हुनसक्ने उहाँले बताउनुभयो । गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ”, लिम्बूले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उहाँले बताउनुभयो । निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपन्छी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “जलपन्छी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।” यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपन्छी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताउनुभयो ।
मोरङ: जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो । । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । आज विहान करिव छ वजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

