काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:   शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।  यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ ।      प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ ।      “सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ”, विज्ञप्तिमा भनिएको छ ।      यसअघि निजी क्षेत्रका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।       प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ–आफनो ठाँउबाट उठे । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे ।       सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका छन् । 

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गर्नुभएको हो । अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बिमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो । मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताउनुभयो । केही समयअघि सार्वजनिक गरिएको बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

काठमाडौं: सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ ।        संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन आग्रह गर्नुभयो ।  अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताउनुभयो ।         बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो । उहाँले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।      यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् । 

काठमाडौं:  निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।      शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन  निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताउनुभयो ।  पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो ।  निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही निर्माणका कार्य भइरहेको उहाँले बताउनुभयो ।      उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिएका थियौँ, ढलानको काम भएको छ, अब अन्य संरचनाको काम बाँकी छ ।”  गण्डकी प्रदेश सरकारको मूल्य रु चार करोड ९० लाख ८३ हजारको लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । साढे दुई तलाको उक्त भवनको ढलानको काम सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले जानकारी दिनुभयो ।  अस्पताल भवनको ढलान कार्य सकिएको र अन्य काम बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्ममा भवन निर्माणको काम सक्नुपर्ने सम्झौता छ । उहाँले भन्नुभयो, “बजेट अभावले नै काम अगाडि बढाउन नसकिएको हो, अस्पतालमा आवश्यक संरचना निर्माण हुन बाँकी छ ।” करिब साढे एक रोपनीमा निर्माणाधीन उक्त अस्पताल भवनको सेवा प्रवाहमा आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । एकैसाथ निर्माण थालनी गरिएको कास्कीको पोखरामा भने नमूना अस्पतालबाट सेवा प्रवाह भइसकेको छ । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:  चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।  सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।  त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।  छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उहाँले बताउनुभयो ।  चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनुभयो ।  महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ । 

ढोरपाटन: नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।   दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् ।  वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम ९फागुन–वैशाख० का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् ।  अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो ।  त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् ।  ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो ।  नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ ।  यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो ।  दोस्रो याममा रु एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।