काठमाडौं: अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको बताइएको छ । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ–जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए ।
काठमाडौँ: नेपालले साफ यू २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि,किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ: देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
बाँके: बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ । “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ । करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ । प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा–१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ्र गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ । संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उहाँले भन्नुभयो, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन सुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के–के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।” गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि–२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ । राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन । स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ । राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् ।
काठमाडौँ: शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत दायित्वभित्र पर्छ । शिक्षकले कक्षामा दैनिक विभिन्न विषयवस्तु शिक्षण गर्नुपर्ने हुन्छ, शिक्षण गर्ने विषय आफूले पनि अध्ययन गरेको भए सहज हुने शिक्षकहरू बताउँछन् । शिक्षक शिक्षकसँगै विद्यार्थी पनि हो । असल शिक्षकले जहिले पनि कक्षाकोठामा प्रवेश गर्नुपूर्व तयारीस्वरुप विषयवस्तु राम्रोसँग अध्ययन गर्न जरुरी रहेको कर्णाली मावि टीकापुरका गणित शिक्षक ज्ञानेन्द्र जोशी बताउनुहुन्छ । “मेहेनती र अध्ययनशील शिक्षकले नै विद्यार्थीलाई विषयवस्तुमाथि राम्रोसँग प्रस्ट्याउन सक्छ र छोटो समयमा धेरै ज्ञान दिन सक्छ र यसका लागि हामी पनि विद्यार्थी बन्न अर्थात् विषयवस्तुको ज्ञान हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षकले कुन विषयवस्तु शिक्षण गरिँदैछ, शिक्षणको उद्देश्य के हो ? कतातिर जाँदैछ अर्थात् विषयवस्तु शिक्षण गर्दा कुन कुरालाई बढी केन्द्रित गर्नेजस्ता कुराको तयारी गर्न आवश्यक छ । म कक्षामा जानुपूर्व पाठ्यक्रमका आधारमा तयारी गरेर जान्छु ।” ज्ञान र सिकाइ जति अध्ययन गर्यो त्यति बढ्दै जान्छ । शिक्षकले शिक्षण गर्दा विद्यार्थीको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्छ । कुन विद्यार्थीले कसरी कुन माध्यमबाट विषयवस्तुलाई शिक्षण गर्दा विद्यार्थीले छिटो बुझ्दछ भन्ने कुराको ज्ञान हुन जरुरी रहेको सरस्वती माध्यामिक विद्यालय बनगाउँकी अङ्ग्रेजी शिक्षक सम्झना अर्याल बताउनुहुन्छ । “सबै शिक्षकले नियमित कक्षामा गई कक्षा शिक्षण गर्नुहुन्छ । तर कक्षामा जानुपूर्व विषयवस्तु राम्रोसँग अध्ययन गरेको र नगरेको शिक्षकले विद्यार्थीलाई दिने ज्ञान र विषयवस्तुमाथिको दखलतामा फरक देखिन्छ”, उहाँ भन्नुहुन्छ, “राम्रो शिक्षणका लागि शिक्षक पनि विद्यार्थी हुन जरुरी छ । विषयवस्तुमाथि पूर्वतयारी जरुरी छ ।” यसैगरी शिक्षकले कक्षामा शिक्षण गर्दा शिक्षणपश्चात विद्यार्थीको उपलब्धि के रहन्छ भन्ने कुराको ज्ञान लिनुपर्ने हुन्छ । विद्यार्थीलाई कति मात्रामा ज्ञान दिने, कुन विधिमार्फत शिक्षण गर्ने भन्ने कुरा शिक्षकले मानसिकता बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतको भनाइ छ । “शिक्षकको तयारी र ज्ञानका भरमा शिक्षण सिकाइमा प्रभाव पर्छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ प्रभावकारी बनाउन शिक्षक पहिला विद्यार्थी बन्नुपर्छ । शिक्षकले कक्षाकोठा र विद्यार्थीबाट पनि ज्ञान लिइरहेको हुन्छ ।” मानिस आफैँमा पूर्ण हुँदैन सिकाइमा पूर्णताका लागि मेहेनत निरन्तर आवश्यक हुन्छ । समय र परिस्थितिअनुसार विषयवस्तु परिवर्तन भइरहने भएकाले शिक्षकले पहिले आफूले विषयवस्तु राम्रोसँग अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेमा सिकाइ प्रभावकारी र गुणस्तरीय हुने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने बताउनुहुन्छ । “विषयवस्तु राम्रोसँग अध्ययन गरेको र पूर्वतयारी गरेको शिक्षकले नै राम्रोसँग शिक्षण गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सिकाइका लागि शिक्षकको लगाव र रुचि पनि महत्वपूर्ण हुन्छ ।” शिक्षा तथा समन्वय एकाइ कैलालीका अनुसार जिल्लामा जम्मा ५६५ सामुदायिक विद्यालय छन् ।
काठमाडौँ: आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो । आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले रु दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । बढ्यो व्यापार घाटा आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा रु १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो । एक वर्षको अवधिमा नेपालले रु २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।
काठमाडौँ: भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो ।
तनहुँ: साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् । साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार साउनका पाँच सोमबार गरेर एक लाख ५० हजारभन्दा बढी भक्तजन देवघाट आउने अनुमान गरिएको छ । देवघाट आउने भक्तजनका लागि ट्राफिक प्रहरी कार्यालयले रुट निर्धारण गरेको छ । कोरोना कहरका कारण अघिल्लो वर्ष औपचारिक रुपमा मेला आयोजना गरिएको थिएन । देवघाट क्षेत्र विकास समितिले दुई वर्षपछि बोलबम मेला आयोजना गरेको हो । घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ । देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । साउनमा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ ।

