मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

  काठमाडौं:   स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ  ।        कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुर्गन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या आएको छ ।       सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरी विरोध गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यन्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीका लागि सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ ।        स्थानीयले निरन्तर अवरोध र लामो समयसम्म उपत्यकामै फोहर राख्नु परेकाले प्रहरी प्रशासन परिचालन गरेर फोहर व्यवस्थापनको काम गरिएको जनाएको छ । कामपाका  प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् भनेर इमान्दार, सचेत र संवेदशनशील भएर काम भइरहेको बताउनुभएको छ । गत जेठ २६ गते कामपा, धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिँदै प्रमुख साहले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा उक्त स्थानमै काम गर्न बजेट विनियोजन गरिएको पनि जानकारी दिनुभयो ।       कामपाले चालु आर्थिक वर्षमा सिसडोल बञ्चरेडाँडा क्षेत्रमा फोहर व्यवस्थापन र सडक मर्मतका लागि मा रु २० करोड बजेट विनियोजन गरेको छ । प्रहरी प्रशासनको सहयोग लिएर मङ्गलबार एक सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । आज पनि प्रहरीकै सहयोगमा फोहर व्यवस्थापनको काम भइरहेको छ । स्थानीयको अवरोध भने कायमै छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ।   बुधबार फेसबुकमा भिडियो जारी गर्दै सभापति रवि लामिछानेले विभिन्न प्रदेशमा गरिएका भेलामा सहभागीहरूले प्रदेशको अहिलेको संरचना निकै खर्चिलो भएको र भ्रष्टाचारलाई बढाउन सघाउने बताएपछि आफूहरूले प्रदेश सभामा उम्मेदवारी नदिने बताएका छन् ।    उनले भनेका छन्,‘यस  पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने  भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र  संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ। यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’   लामिछानेले प्रदेश सभा खारेज गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताएका छन्।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समयमा राजधानीका विद्यार्थीहरुलाई लक्षित गरी सवारी चेकिङ् सुरु गरेको छ ।    प्रहरीले सुरु गरेको चेकिङ्मा मंगलबार १ सय १८ जना कारवाहीमा परेको कार्यालयले जनाएको छ । जसमध्ये अनुमतिपत्र नभएका ६१, सवारी दर्ता किताब नभएका ३९, तीनजना सवार ७ विद्यार्थी कारवाहीमा परेका छन् ।    त्यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० गरी १ सय १८ जना विद्यार्थी कारवाहीमा परेका हुन् ।     कारवाहिमा पर्ने विद्यार्थीहरुमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।    कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यका भित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन । जसमध्ये ८ हजार ३ सय ६४ वटा दुईपांग्रे सवारी साधन रहेका छन् ।    सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्युमध्ये २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदलयात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।    मृत्यु हुनेमा अधिकांश दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । उमेर समुहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्षसम्मका दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेको बताइएको छ ।    धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको भट्टले जनाए । 

   काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।          त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ । 

  कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार छ सय १९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।   सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय २६ घर फर्किएका छन् ।    यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९० को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् ।   यस्तै होम आइसोलेसनमा पाँच हजार ६२, संस्थागत आइसोलेसनमा एक सय ९७, सघन उपचार कक्ष ९आइसियु०मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९० हजार चार सय ४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।   राष्ट्रपति भण्डारीले भन्नुभयो, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामूलक एवं न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ ।”   राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत साधनको परिचालन गर्ने, तिनको व्यवस्थापकीय क्षमताको विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् उन्नत सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रको प्राकृतिक स्रोत तथा सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।   सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।   पूर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हामीले आफ्नो गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताउनुभयो । विद्यालयले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियताप्रतिको दायित्व बोध हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवीनतम प्रविधिको उपयोग गर्दै सक्षम जनशक्ति तयारीमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भई तीन तहको सरकार क्रियाशील भइरहेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा पनि समयसापेक्ष परिवर्तन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दासम्म हामीले आफ्ना सपना पूरा गर्न नसकिने उहाँको भनाइ छ ।    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो इतिहास बोकेको विद्यालयले आफूलाई उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सकेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । शिक्षाको विकासका लागि महानगरले मर्यादित शिक्षक र अनुशासित विद्यार्थी कार्यक्रम अघि सारेको बताउँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तरीयता अभिवृद्धि आफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्रविधिको प्रयोगमार्फत हीरक स्तम्भको अनावरण एवम् भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।   कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का निर्देशक रामशरण सापकोटा, अतिथि सत्कार समितिका संयोजक दानबहादुर बाँनिया लगायतले विद्यालयका विविध अवस्था सम्बन्धमा बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

  प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको  छ ।   त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले गाउँघरमा पारामेडिकलले पशु चिकित्सकको काम गरिरहेका र उनीहरुको पेसालाई मर्यादित र व्यवस्थित बनाउन यो विधेयक ल्याइएको बताउनुभयो ।    उहाँका अनुसार यसरी सेवा दिने प्राविधिक जनशक्ति सरकारी तवरबाट झण्डै तीन हजार ८०० र निजी क्षेत्रबाट २१ हजार छन् । मन्त्री सिंहले भन्नुभयो, “उनीहरुको सेवालाई मर्यादित र व्यवस्थित गर्न विधेयक ल्याएको हो, सांसदबाट आएका सुझावसमेतलाई राखेर ऐन संशोधन गर्न नसके पनि नियमावलीमा भने व्यवस्थित गरिनेछ ।” 

  पर्वतमा रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् ।   बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् ।    जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख बिपीनप्रसाद शर्माले बताउनुभयो  ।    जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ ।  “मलको माग कति थियो कति”, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भन्नुभयो, “पुर्‍याउनै सकिएन । अब कहिले आउने हो टुङ्गो छैन ।”   कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताउनुभयो ।“‘अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।”   मकै छरेदेखि मल नपाइएको कृषकहरुको गुनासो छ ।  मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भन्नुभयो, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’  अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो । यो वर्ष मलकै आसमा धानखेती भित्र्याउनै नपाइने उहाँको गुनासो छ ।    फलेवास नगरपालिका-४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किर्एको गुनासो गर्नुभयो । “३० किलो युरिया चाहिएको थियो,” उहाँले भन्नुभयो, “कोटा सकिएको रहेछ ।  पाँच किलो ल्याएर केमा सुघाउने रु अरू मल आएपछि एकै पटक छरौला भनेर राखेको छु ।”   केहि दिन अघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुँईचो लागेको थियो । विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पु¥याएर वितरण गर्दै आउनुभएका बिहादी गाउँपालिका -३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गर्नुभयो ।  नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताउनुभयो । “मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,” उहाँले भन्नुभयो, “मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।”   मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन ।  कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन । “मल नपाएर मकै पनि भएनन्,” कुश्मा-९ का पुनाखर पराजुलीले भन्नुभयो, “धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।” रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरुको गुनासो छ । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरु समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    पर्याप्त वर्षा नहुँनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । 

  काठमाडौं:  वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग  गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।     विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसद लालबाबु यादवले गुनासो गर्नुभयो । पाँचथरको रङ्गशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गर्नुभयो ।   सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र  बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गर्नुभयो । उहाँहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।   सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो । सांसद सत्य पहाडीले प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउन माग गर्नुभयो । सांसद डा सूर्य पाठकले बाग्लुङको निर्माणाधिन सडकमा निर्माण व्यवसायीले प्रभावकारी काम नगरेका कारण स्थानीयबासीले दुःख पाएकोमा आपत्ति जनाउनुभयो ।   सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम शिघ्र सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हितबहादुर तामाङले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि कुनै पनि योजना नहुँदा एक सय ७४ पटक सम्झौता भएपनि समस्या समाधान हुन नसकेकामा आपत्ति प्रकट गर्नुभयो । सांसद हीरा गुरुङले पनि फोहर व्यवस्थापन हुन नसक्दा काठमडौँ उपत्यका दुर्गन्धित भएको पाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।   शुन्य समयमा सांसदहरु सीताराम महत्तो, सरिताकुमारी गिरी, नारायण शर्मा खनाल, शिवमाया तुम्वाहाम्फे, विष्णु शर्मा, लालबहादुर थापा र लक्ष्मी परियारले विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।