पोखराः पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम आज (बिहिबार) प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे । उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राखे । त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताए । ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, गुरुङले भने, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने दृष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वको आर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं । र सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु ।’ उनले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राखे । ‘हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उनले भने, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिक माग्नु होइन । आफ्नो प्रतिभा देखाउनु हो । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’ उनले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको बताइन् । ‘तपाईहरुले सडकमा माग्न बसेको होइन, उनले भनिन्, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’ उनले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाइन् । ‘यो कार्यक्रम एउटा उदाहरण मात्र हो । आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं । फरक क्षमता भएका तपाइहरुलाई रहर हैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ ।’ उनले भनिन् । गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै भनिन्, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शिवाद थिए । त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’ उनले आगामी दिनमा दृष्टिविहिन नागरिकहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्ने बताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरेकी थिइन् । यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे । ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्न सक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भने, ‘आज हामीलाई प्रीति बहिनी र अमृत भाइले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं ।’ आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उनले सुनाए । ‘सडकमा गाउनु हाम्रो रहर होइन, यो हाम्रो बाध्यता हो । त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला ।’ उनले भने । आर्थिक सहयोग कार्यक्रममा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमर धिताल लगायतको उपस्थिती रहेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो । यतिपछि बुद्ध एयरको विमान ३: ०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ । डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् ।
काठमाडौं: बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेको उनले बताए। कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।
गत शनिबार पोखराको लेकसाइडस्थित रोलिङ् स्टोन रक बारमा दुई पक्षबीच सामान्य निहुँमा झडप भएको छ । डान्सफ्लोरमा नाचिरहेकोबेला एकापसमा ठोक्किने क्रममा विवाद बढेपछि केही समय स्थिति असमान्य भएको रोलिङ् स्टोन स्रोतले बताएको छ । बिरौटाका एक युवा नयाँबजारको समूहसँग ठोक्किएपछि भनाभन भएको र पछि उनीमाथि कुटपिट भएको हो । बिरौटाका युवा ९ जनाको समूहमा रहेको र नयाँबजारको समूह ठूलो रहेको बताइएको छ । भनाभनकैबीच नयाँबजारको समूहले बियरको बोत्तलले प्रहार गर्दा बिरौटाका २ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन बारका बाउन्सरले एक समूहलाई बाहिर निकालेको थियो । झडपबाट बारमा कुनैपनि क्षति नभएको सञ्चालक रोशनजंग कार्कीले बताए । ‘खासै ठूलो घटना होइन, र हाम्रो भौतिक क्षति भएको छैन’ सञ्चालक कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षामा सचेत छौं ।’ बारबाट एक समूहलाई बाहिर निकालेको खबर प्रहरीमा पुगेपछि वडा प्रहरी कार्यालय बैदामले स्थिति नियन्त्रणमा लिएको थियो । यस विषयमा अहिले बैदामका डिएसपी युवराज भण्डारीको रोहबरमा छलफल भइरहेको छ । यस्तै, दुबै समूहले गल्ती स्वीकार्दै एकापसमा मेलमिलाप कायम गर्ने नीति अपनाउने जनाएका छन् ।
काठमाडौं: कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दी तथा करारमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ । मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।
०४४ साल जेठको २८ गते श्रीमति विष्णुदेवीसहित गिरिधारी कँडेल पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पुगे । भारतीय सेनामा पेन्सन पकाएका गिरिधारी पेन्सन थाप्नै श्रीमतीसहित त्यहाँ पुगेका थिए । तर त्यस दिन पेन्सन थाप्न कँडेल दम्पत्तीसहित अन्य २ जोगी पनि थिए । जो सँगै अघिल्लो रात पोखराकै पृथ्वीचोकको एक होटलमा बसेका थिए । गिरिधारीले ६ हजार रुपैयाँ पेन्सन थापेपछि ३ हजार विष्णुदेवीलाई दिएर आफु हरिद्वारका जोगीसँगै मानसरोवर यात्रामा निस्कने सुनाए । छुट्नेबला विष्णुले सोधिन् ‘कहिले फर्कनुहुन्छ ?’ ‘फर्कन्छु’ गिरिधारीले यति भनेर बाटो लागे । विष्णुदेवी गह्रुँगो पाइला लिएर घर फर्किइन् । ......................................................................................... घरको भित्तामा श्रीमान्सँगको युगल तस्बिर टाँगिएको थियो । सोही तस्बिरले उनलाई अतीतमा फर्कायो । ०२३ सालमा गिरिधारीले विष्णुलाई स्याङजाको हरिनासबाट तनहुँको भिमाद गाउँ पञ्चायत वडा नम्बर २ स्थित घरमा भित्र्याएका थिए । दुईबीच उमेरमा १४ वर्षको फरक भएपनि मायाको कुनै साँध र सिमाना थिएन । सर्लक्क मिलेको जीउडालका गिरिधारीले सँगै पल्टन पनि लगे । उता र यता गरेर ५ सन्तान भए । जसमध्ये ३ छोरा र २ छोरी हुन् । सेनामा हुँदा गिरिधारीको मन अध्यात्मतर्फ ढल्कँदै गयो । पछि रिटायर्ड भएर घर फर्किएपछि उनी बेलाबेला विभिन्न धाम, तीर्थस्थलमा महिनौ बिताउँथे । उनको पेन्सनबाट विष्णुले घर धान्दै, बालबच्चा हुँर्काउन थालिन् । पतिको अभावमा घर धान्न गाह्रो त थियो नै तर उनको बाटोमा तगारो बन्ने चाहना विष्णुको थिएन । गिरिधारी तीर्थ र धामबाट फर्किएपछि पनि फेरि उतै जाने ध्याउन्नमा हुन्थे । त्यसरी जाँदै, आउँदै गर्ने क्रममा २ जोगीसँग मानसरोवर हिँडेपछि आज ३५ वर्ष भयो विष्णुदेवीले आफ्नो सिन्दुर नभेटेको । ................................................................................................. श्रीमान् हिँडेको दिन, महिना हुँदै वर्ष बितेपछि विष्णुको छटपटी बढ्दै गयो । छिमेकी, आफन्त, नातागोगासँगै प्रहरी प्रशासनसमक्ष पुगिन् । सबैतिरबाट खोजी हुन थाल्यो तर गिरिधारी भेटिएनन् । भारतीय सेनामा भएका छोराहरुले भारतका विभिन्न धाम र तीर्थस्थलमा खोजी जारी राखे तैपनि गिरिधारीको पत्तो पाइएन । यसबीच, कसैकसैले गिरिधारी भारतको हरिद्वारमा भेटिएको बताए । कतिपयले नेपालकै देवघाट, पशुपतिनाथ, तनहुँतिर देखेको बताए । तर प्रमाण कसैसँग थिएन । यसबीच, चिना हेराउने, शान्तिस्वस्ती गर्ने, पूजापाठ लगाउनेदेखि ज्यान र परिवारले सकेसम्म गरे । श्रीमान्सँग खिचेका फोटा बोकेर चाहर्दै पनि हिँडिन् । उमेरले ७० वर्ष पुगेकी विष्णुदेवि अतीतको याद बोकेर चारै दिशा पुगेपनि हात नलागेपछि उनकाे अन्तिम प्रयास मिडिया हुन पुगेको छ । यसैक्रममा सुनगाभा न्यूजसँग कुरा गर्दै विष्णुदेवीले अतीत कहेकी छिन् । श्रीमान्सँगको तस्बिर सहित २ वर्षअघि स्याङ्जामा आफन्तले अनुमानको भरमा लुकेर खिचेको तस्बिर लिएर विष्णुमायाले अपील गरेकी छिन् । २ वर्ष अघि स्याङ्जाको टिकाजामा रहेका आफन्तले मोबाइलबाट लुकेर खिचेको एक सन्यासीको फोटो देखाएपछि विष्णुदेवी अब श्रीमान् पक्कै भेटिनेछन् भन्ने आशामा बुढ्यौलीले थाकेका गोडामा पुनः उर्जा थप्दैछिन् । ‘मेरा श्रीमान् जिउँदै छन्’ रसिलो आँखा लिएर उनले भनिन् ‘चिना हेराउँदा उहाँको आयू ९० वर्ष देखिएको छ, कुनैदिन भेटिनेमा विश्वस्त छु ।’ श्रीमान्को जन्म वि.सं १९९७ गते मंसिर १९ गते भएको र अहिले ८३ वर्ष पुगेको उनले जनाइन् । आफ्नो आयू पनि लामै रहेको भन्दै विष्णुदेवी जीवनको अन्तिम क्षणसम्म श्रीमान्कै प्रतीक्षामा छिन् । कुराकानीको अन्त्यमा विष्णुदेवीले श्रीमान्को तस्बिरहरु देखाउँदै भनिन् ‘उहाँ ८४ पुग्ने बेला हुन लाग्यो, चौरासी पूजा गरिदिने इच्छा छ, लौन कसैले भेटाइदिनु हुन्छ कि ।’ भिडियाे: -
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
पोखराः घडीमा बिहानको १० बज्यो, कार्यालय सहयोगीले घण्टी बजाए । विद्यार्थीहरु विद्यालयको प्रांगणमा प्राथनाका लागि लाइनमा बसे । प्राथना लागि लाइनमा १२ विद्यार्थी मात्र सहभागी थिए । कुनै समय १ सय ६६ जना विद्यार्थीहरुले भरिने प्रांगणमा अहिले १२ जना विद्यार्थीहरु मात्र बिहानको प्रार्थनामा उभिए । उल्लेखित दृश्य हो, कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित लान्द्रुक आधारभुत विद्यालयको । बालबिकाश केन्द्र हुँदै कक्षा ५ सम्म पढाई हुने विद्यालयमा भर्ना भएका सबै विद्यार्थी विद्यालयमा भने आउँदैनन् । दुईवर्ष कोरोना भाइरसका कारणका गाउँ फर्किएका विद्यार्थीहरु यसै विद्यालयमा आएर अध्ययन गरेपनि अहिले उनीहरु पुनः शहरका विद्यालय नै फर्किएको लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक नारायणदत्त त्रिपाठीले बताए । अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकका प्रायः विद्यालय पोखरा लगायतका सहरमा अध्ययनरत छन् । यहाँबाट अर्काे विद्यालय टोल्कामा रहेको हिमालयन माध्यमिक विद्यालय हो । जहाँ पुग्न करिब १ घण्टा हिँड्नुपर्छ । ‘कक्षा ५ देखि माथि पढ्न हिमालयन माविमै जानुपर्ने बाध्यता छ’ त्रिपाठीले भने ‘गाउँपालिकाले रिङरोडको अवधारणा अगाडी सारेको छ । योजना सम्पन्न भए गाउँमा स्कुल बस हालेर विद्यालयलाई मर्ज गर्ने सोचेका छौं ।’ त्रिपाठीका अनुसार योजना सम्पन्न भएपछि विद्यार्थीहरुलाई केही सहजता हुनेछ । विद्यार्थीहरु कम भएको कारण नै बालबिकास र कक्षा एकका विद्यार्थीहरुलाई एकैठाउँमा राखेर अध्यापन गराउँदै आएको प्रधानाध्यापक त्रिपाठीले बताए । ‘विद्यालयमा यस वर्ष भर्ना भएका विद्यार्थीको संख्या जम्मा १८ जना हो, प्रधानाध्यापक त्रिपाठीले भने, ‘भर्ना भएका सबै विद्यार्थीहरु विद्यालयमा आउँदैनन्, जसकारण बालबिकास केन्द्र र कक्षा एकका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएका छौं ।’ उनका अनुसार बालबिकास केन्द्रमा ३ जना, कक्षा १ मा २ जना,कक्षा २ मा ३ जना, कक्षा ३ मा ६जना कक्षा ४ मा ४ जना र कक्षा पाँचमा ३ जना भर्ना भएका छन् । कक्षा ५ मा ३जना विद्यार्थी भर्ना भए विद्यालय नआउँदा कक्षा बन्द अवस्थामा रहेको छ । लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक त्रिपाठीले सहरीकरणको समस्याले गाउँको विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको भनाई व्यक्त गरे । ‘गाउँ अलि विकट नै छ, ढुवानी खर्च महंगो छ,पर्यटन हिसाब बाहेक अन्य क्षेत्रमा गाउँ पछाडी छ, उनले भने, ‘गाउँबाट शहर झर्नेको संख्या कम छैन्, बैदेशिक रोजगारीको पनि गाउँको प्रमुख समस्या हो ।’ श्रीमान् विदेश गए छोराछोरी पढाउन सहर झर्ने प्रचलनको असर गाउँमा परेको उनको गुनासो छ । ‘यहाँमात्र हैन गाउँका अन्य विद्यालयमा पनि संख्या न्यून छ’ उनले जनाए । विद्यार्थीहरुलाई आवासिय शिक्षामा जोड दिन सके गाउँबाट शहरमुखी अध्यापन अन्त्य हुने प्रधानाध्यापक त्रिपाठीको भनाई छ । ‘नेपालमा दोहोरो शिक्षा प्रणाली नै प्रमुख समस्या देख्छु, धनी पुँजीपति र सामान्य परिवारका छोराछोरीले पढ्ने विद्यालय फरक छ, उनले भने, ‘सबैलाई समान शिक्षा दिन आवासिय विद्यालयसँगै २४ घण्टा विद्यार्थीहरु शिक्षकको निगरानीमा राख्नसके यसबाट विद्यार्थीहरुले लाभ पाउनेछन् ।’ २०२१ सालमा स्थापना भएको विद्यालयको केही विद्यालय क्षेत्रको केही पुर्वाधार परिवर्तन भएपनि विद्यार्थीको संख्यामा भने केही वर्षदेखि संख्या घट्दो क्रममा रहेको छ । अहिले विद्यालय भवन रहेको जग्गा २०४५ सालमा गुरुदत्त र इन्द्रकला पौडेलले निशूल्क दान गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ७ मा आधारभुत तहका ५ वटा र एक माध्यमिक तहसम्मका विद्यालय रहेका छन् । पहिले विद्यार्थी अहिले शिक्षक जलकबहादुर पौडेल लान्द्रुक आधारभुत विद्यालयका निजि स्रोतका शिक्षक हुन् । कक्षा ५ सय सम्म लान्द्रुक आधारभुत विद्यालयमा अध्ययन गरेका पौडेल अहिले सोहि विद्यालयमा अस्थायी शिक्षककारुपमा कार्यरत छन् । कक्षा ५ पछि ६ देखि १० सम्म टोल्कास्थित हिमालयन माविबाट एसएलसी पास गरेका पौडेलले उच्च शिक्षा र स्नातक तहको पढाई पोखराबाट पुरा गरेपछि विगत १५ महिनादेखि लान्द्रुक आधारभुत विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका छन् । स्यानीय कमल गुरुङले गाउँको विद्यालयमा गुणस्तरीयता शिक्षा नभएको भन्दै अभिभावकहरु शहर केन्द्रित विद्यालयमा विद्यार्थी भएको बताए । ‘गाउँको विद्यालय हो, हामीले पढ्ने समयमा १ सय ६० बढी विद्यार्थीहरु हुन्थ्ये, अहिले किन विद्यार्थी भएनन् भन्ने प्रश्न कसैले गरेनन्, गुरुङले भने, ‘गाउँको विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न केही स्थानीयले आफ्नै खर्चमा शिक्षक समेत राखे त्यसलाई सही सदुपयोग गर्न सकिएन ।’ सोहीकारण अभिभावकहरु गुणस्तरीय शिक्षाको लागि शहर केन्द्रित भएको बताउँदै उनले गाउँमा निम्नवर्गीय परिवारका विद्यार्थीमात्र रहेको सुनाए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र विरुद्ध आन्दोलनरत छ । पुस १ गतेदेखि सुरु गरेको देशव्यापी विरोधअन्तरगत नेकपा कास्कीले आज पोखराको उत्तरी क्षेत्रमा पर्ने पोखरा–बाग्लुङ राजमार्गमा चक्काजाम गरेको छ । नेकपाले उक्त राजमार्गअन्तरगत याम्दीपुलमा बिहान १० बजेदेखि १ घण्टा चक्काजाम गरेको कास्की सेक्रेटरी काजी गुरुङले जनाए । चक्काजामको निर्धारित समय सकिन लाग्दा नेपाल प्रहरी पुगेपनि कुनै बल प्रयोग र धरपकड नभएको भन्दै उनले शान्तिपूर्णरुपमा कार्यक्रम सफल भएको जानकारी दिए । आन्दोलनअन्तरगत हिजो साँझ अमरसिंह क्षेत्रमा मशाल जलुुस निकालेको थियो भने अघिल्लो दिनमा नगरक्षेत्रमा प्रदर्शन गरेको थियो । आन्दोलनका निर्धारित कार्यक्रम सकिएपछि आगामी दिनमा हुने कार्यक्रमबारे केन्द्रमा छलफल हुने सेक्रेटरी गुरुङ्ले जनाए ।

