लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् ।   असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।   त...

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ ।   चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।   लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।   “गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।”   साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ ।   तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ ।   गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् ।   भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ ।   उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ ।   चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो ।   “साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।”   गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् ।   लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।   केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ ।   पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।   पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।

पोखरा:   गण्डकी प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।   गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि काँग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ । नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् । केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।  

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ ।   रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो ।   आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो ।   “ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।”   विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो ।   पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् ।   यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ ।   तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो ।   लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् ।   भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो ।   भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् । 

पोखरा:    नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।   एमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ ।  एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने शपथको समयमै मन्त्रीबारे थाहा हुने बताए । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । एक जना मन्त्रीका स्वकीयले पुष्टि गरे, ‘आजै शपथ गर्ने कुरा छ । १ बजे भन्ने आएको छ ।’ प्रदेश प्रमुखको निवासमा आज एक बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ ।

दमौली:  तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।   वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ ।   स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो ।   स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।”   शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।”   उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् । जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ ।   रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् ।   व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।

 पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ ।   गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।   ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हँुदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो ।   “ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाैं ।”   गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत रु १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताउनुभयो ।   काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् ।   कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् ।   देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए ।   पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो ।   पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।   फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो ।   एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ ।   आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताउनुभयो ।   ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ ।   ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

दमौली:     तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ ।   विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो ।   तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।   व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताउनुभयो ।   व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो ।   अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।” उहाँले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।   छ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गर्नुभएको थियो ।   तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ ।   घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताउनुभएको छ ।   प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताउँदै ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।   सञ्चार क्षेत्र सम्बद्ध राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, हुलाकलगायत संस्थाहरू पुरानै ऐन, कानुन अनुसार सञ्चालन भइरहेकाले यिनीहरूलाई आवश्यकता अनुसार संशोधन गर्ने कुरामा सरकार अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।   सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन, साइबर अपराधसम्बन्धी ऐनको मस्यौदा भएर अन्तिम चरणमा रहेको जनाउँदै सञ्चारमन्त्री गुरुङले सार्वजनिक प्रसारण ऐन (पिएसबी), मिडिया काउन्सिल विधेयक छलफलका क्रममा रहेको बताउनुभयो ।   पिएसबी बनिसकेपछि नेपाल टेलिभिजन, रेडियो नेपाललाई केही मात्रामा स्वायत्त बनाउँदै थप व्यवस्थित र नागरिकमैत्री बनाउन सरकार प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो । सरकारको आफ्नै स्टाटलाइट हुनुपर्ने बताउँदै सञ्चारमन्त्री गुरुङले यसमा आफ्नोपनका साथै स्वाभिमान पनि झल्किने उल्लेख गर्नुभयो ।   सुशासन, समृद्धि, सरकारको प्रभावकारितालगायत क्षेत्रमा थप उपलब्धि हासिल गर्न सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढेको उहाँले जानकारी दिनुभयो ।   सेक्युरिटी प्रेस सञ्चालनका माध्यमबाट देशभित्रै पार्सपोर्ट, सवारीचालक अनुमतिपत्र, अन्तःशुल्क स्टिकरलगायत छपाइको प्रयासमा सरकार लागेको उहाँको भनाइ छ ।   सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “यी काम एक वर्षभित्र गर्न सक्छु भनेर प्रतिबद्ध छु । बैंक नोट पनि मुलुक भित्रै छपाइ गर्नुपर्ने योजनामा सरकार छ ।”   चालु आर्थिक वर्षभित्र मुलुभर ‘फोर जी’ र मुख्य सहरहरुमा ‘फाइभ जी’ पुर्‍याउने मन्त्रालयको योजना रहेको सञ्चारमन्त्री गुरुङले जानकारी गराउनुभयो । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाएर कार्यान्वयनको ढाँचा बनाइरहेको उहाँले बताउनुभयो ।   सरकारले यसै वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामति ऐन ल्याउन पहल गरिरहेको बताउँदै सञ्चारमन्त्री गुरुङले यी ऐन आएमा प्रभावकारी रुपमा सङ्घीयता कार्यान्वयन हुने धारणा राख्नुभयो ।   वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म जाने जनाउँदै उहाँले पत्रकारिता जगतले समाजका नकारात्मक पक्षलाई भन्दा विकास, निर्माण, कृषिलाई प्रथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।   गण्डकी प्रदेशमा मुख्यमन्त्रीले लिइरहेको अडानका सम्बन्धमा सञ्चारमन्त्री गुरुङले सङ्घीय गठबन्धनको मर्मबमोजिम गण्डकीमा सरकार पुनःगठन हुनुपर्ने बताउनुभयो । गठबन्धनको संस्कार र राजनीति इमान्दारीपूर्वक निर्वाह हुनुपर्ने आवश्यकता औंँल्याउनुभयो । 

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ ।   गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ।   प्रदेश सरकारको रु १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।   “आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्यारापिट बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।”   खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो ।   फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिता आयोजना गर्न पनि सहज हुने गौचनले बताउनुभयो ।   गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुभयो ।   गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।