राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८...

लेखनाथ : कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्नुहुन्छ म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा ।   छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झर्नुभएकी उहाँलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब रु तीन करोड पुगेको छ ।    उहाँले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो पेशा अगाडि बढाउनुभएको थियो । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी छन् । पन्ध्र रोपनी जमिनमा शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गर्नुभएको छ ।    उहाँले भन्नुभयो, “दूध तथा तरकारी बिक्रीबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक रु डेढ लाख बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।”     तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि  रु सात हजार बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थाल्नुभयो, गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उहाँले भैँसीपालन गर्ने सोच बनाउनुभयो ।   शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भएपनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याउनुभयो । मेहेनत गर्दै अगाडि बढ्नुभएकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बन्नुभएको छ । दुई वर्ष अगाडिदेखि उहाँले बाख्रापालनसमेत सुरु गर्दै आउनुभएको छ ।    त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्थ्यो । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो ।    पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उहाँले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याउनुभयो । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो ।    दुई–तीन महिला उहाँका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिनुहुन्छ । किनेको एउटा भैैँसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उहाँले २०७५ मा भैँसी थप्ने योजना बनाउनुभयो ।   तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन । भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दिने भयो उहाँलाई । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले रु ५० लाख रुपैयाँ दिने निर्णय ग¥यो ।   बैंकबाट लिएको पैसामध्ये रु ३० लाख भैँसी खरिद र रु २० लाख तरकारीको टनेल बनाउन प्रयोग गर्नुभयो उहाँले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर रु १० लाखमा पु¥याउनुभएको थियो।    छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा-२७ मा नै किराना पसल गर्नुभएको छ । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको जानकारी उहाँ दिनुहुन्छ  ।    “अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन रु तीन करोड गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उहाँले अहिले २९ रोपनी जग्गा भाडामा लिनुभएको छ । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु ।   कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स  विषय पढे”, शेरपूर्जा  भन्नुहुन्छ, “लेखनाथमा आफ्नै एउटा घर पनि छ ।”  कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ  । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिनुभएको छ। 

सिन्धुपाल्चोक :   बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।   मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक  आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भन्नुभयो ।    काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउनुहुन्छ । मेलम्चीका माछा निकै स्वादिलो भएको उहाँ बताउनुहुन्छ । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो ।    बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो । 

तुलसीपुर  :  टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।    पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो ।    पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ । ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । “अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन”, सुनारले भन्नुभयो ।   चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उहाँले बताउनुभयो ।  बास्मती चामलको मूल्य प्रतिकिलो रु एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ ।    दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ । खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उहाँको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ । 

नवलपुर  : दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।   भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख सात हजार एक सय ९० मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लाको आवश्यकता भने जम्मा ३४ हजार छ सय ८० मेट्रिक टन रहेको छ ।   जिल्लामा खपत भएर बाँकी रहेको दूध बाहिर बिक्रीका लागि लैजाने गरिएको छ । कार्यालयले दूधमा उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । प्रतिलिटर दूधमा यहाँ सहकारीमार्फत सञ्चालित दुग्ध सङ्कलन केन्द्रबाट सो अनुदान दिने गरिएको छ । “दूध उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानसमेत प्रदान गर्दै आएका छौँ, यसबाट पनि किसान लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो, “बजेट पर्याप्त नहुँदा सहकारीलाई निश्चित रकम प्रदान गर्ने गरिएको छ ।”   यसैगरी मासुमा पनि नवलपुर आत्मर्निभर भएको छ । नवलपुरमा गत आर्थिक वर्षको तथ्याङ्कानुसार १२ हजार चार सय ९० मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लामा आवश्यकताभन्दा सात हजार एक सय ५५ मेट्रिक टन बढी हो । प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता रहेकामा नवलपुरमा ३२ दशमलव सात किलो उपलब्ध रहेको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो ।   जिल्लाको जनसङ्ख्या र प्रतिव्यक्ति आवश्यकताको तुलनमा अण्डा उत्पादनसमेत धेरै हुने गरेको छ । प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकता रहेकामा नवलपुरमा प्रतिव्यक्ति प्रतिवर्ष ९० वटाका दरले अण्डाको उपलब्धता रहेको छ । प्रतिव्यक्ति आवश्यकताका आधारमा जिल्लामा अण्डाको उत्पादन धेरै रहेको र बढी भएको उत्पादन जिल्ला बाहिर बिक्री गरिन्छ ।   दूध, मासु र अण्डा आवश्यकता तथा उपलब्धताका आधारमा बढी उत्पादन भएको गुरागाईँले बताउनुभयो । माछाको उपलब्धतासमेत जिल्लामा राम्रो रहेको छ । “जिल्लामा माछाको उत्पादन पनि राम्रो छ, आवश्यकता प्रतिव्यक्ति कति भनेर पहिचान गरिएको छैन, यसले गर्दा आत्मनिर्भर नै भन्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “माछासमेत जिल्ला बाहिर बिक्री गर्ने गरिएको छ ।”   गत आवको तथ्याङ्कानुसार नवलपुरमा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएको थियो । नवलपुरमा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको कार्यालयले जनाएको छ । यसबाहेक माछा उत्पादन हुने खोला, नदीजस्ता प्राकृतिक जलाशयको क्षेत्रफल दुई हजार आठ सय ४५ रोपनी छ । सरकारले पशुपक्षीपालन, माछापालनमा विभिन्न अनुदान दिने गर्दा नवलपुरमा यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ । ठूला सहर तथा उद्योगले पशुपक्षीजन्य वस्तु खपत गर्दै आएका छन् । बजारको समस्या नरहेको कार्यालयले जनाएको छ । 

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ ।       यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ । कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर रु एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भयो ।      कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर रु पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक रु चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर रु तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।      नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् ।      यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् । 

सोह्रश्राद्ध चलिरहनु भनेको दशैंलाई निम्ता दिनु हो । ठूलो चाड मानिने दशैंमा खानपिनले विशेष महत्व राख्छ । र, खानपिनमा नछुट्ने परिकार हो ‘मासु ।’   तर पोखराका फ्रेस हाउसमा बेच्न राखिएको मासु किन्दा उपभोक्ता ठगिने गरेको पाइएको छ । पोखरा महानगरपालिकाले आज नगरभित्रका केही मासु पसलको अनुगमन गर्दा उपभोक्ता ठगिने गरेको पाइएको छ ।    महानगरको अनुगमन टोलीमा उपभोक्ता मञ्च र पत्रकारहरुको पनि सहभागिता थियो । टोलीले आज पोखराको अमरसिंहचोक, रामबजार, जीरो किमी, बगर र चिप्लेढुंगा क्षेत्रमाक अनुगमन गर्दा केही पसलहरुले नियमावलीको पालना नगरेको पाइएको छ ।    त्यस्तै, केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएको अनुगमन टोलीको भनाई छ । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित हुन पत्र थमाइएको उपभोक्ता मञ्च, गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।    ‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछन्’ अध्यक्ष कोइरालाले भने ‘केही पसलमा बाख्राको मासुलाई खसीको भन्दै बेचेको पाइएको छ ।’   उनका अनुसार केही पसलमा के को मासु काटेको हो भनेर छुट्याउन प्रजनन अंग नभेटिएकाले उक्त मासु नष्ट गरिएको छ । ‘केही पसलमा बेच्न राखिएका मासु शंकास्पद पाइएकाले नष्ट गरिएको छ’ कोइरालाले थपे ।    अनुगमनपछि प्रशासन कार्यालयमा हाजिर हुन भनेको र कारवाही अघि बढाइएको टोलीले जनाएको छ । उनीहरुलाई कसुर अनुसार आर्थिक जरिवाना गर्ने प्रशासनको तयारी छ । त्यस्तै, केहीलाई फ्रेस हाउसमा तत्काल सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।    मासु पसलहरुले पालना गर्नुपर्ने मापदण्ड र नियमावली बनाइएपनि अधिकांशले पालना नगरेको जानकारी सम्बन्धित निकायलाई भएपनि प्रायः चाडवाडकाबेलामात्रै अुनगमन गरिने र अन्य समयमा बेवास्ता गरिने भएकाले सुधान हुन नसकेको आम उपभोक्ताको भनाई छ । 

पोखरा  ः  भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।   वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।   बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो  । करिब पाँच सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । सो माछालाई सोमबार नै सरोकारवालाको रोहबरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ ।    अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गर्नुभयो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ ।   सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ । चितवनमा वार्षिक छ हजार पाँच सय टन माछा उत्पादन हुन्छ । यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ । बाँकी काठमाडौँ, पोखरालगायतका बजारमा बिक्री हुने गरेको सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताउनुभयो । पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ छ ।

काठमाडौं   :  गतवर्ष नेपालबाट रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो ।   कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताउनुभयो । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उहाँको भनाइ थियो ।   खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उहाँले माग गर्नुभयो ।   सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो । अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गर्नुभयो ।   नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् ।   विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौँभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् । 

पोखरा : मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ ।    पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ ।      पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ । मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ ।    च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन् । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।   पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आर्किषत बनेको देखिन्छ । ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ । सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ ।     पोखरामा घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ । भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ । मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताउनुभयो । “हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडा तथा च्याङ्ग्रामा चाँडै नै स्वासप्रश्वासमा समस्या आउने गर्दछ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्‍याउन सकिन्छ”, उहाँले भन्नुभयो, “हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउनेजस्ता समस्या पनि नभएका भने होइनन् ।”   मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिनुभयो । विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताउनुभयो ।   अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।   पोखरामा च्याङ्ग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ । तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्याङ्ग्रा पनि ल्याउने गरेको पाइन्छ । तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्याङ्ग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रौबरबाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बूढापाका बताउँछन् ।