कास्की मालपोतका ड्राइभरको आरोप: ‘हाकिमको रोपाइँमा नजाँदा जागिर खुस्कियो’

पाेखरा | साउन ३, २०८०

कास्की मालपोतका ड्राइभरको आरोप: ‘हाकिमको रोपाइँमा नजाँदा जागिर खुस्कियो’

अघिल्लो आर्थिक वर्षको ६ महिनायता मालपोत कार्यालय कास्कीमा सवारीचालक रहेका हिमलाल उपाध्यायले प्रमुख रामचन्द्र अधिकारीको रोपाइँमा नजाँदा जागिर गुमेको बताएका छन् । ।

 

उपाध्यायले सुनगाभा न्यूजसँग कुरा गर्दै गत असार १५ गते प्रमुख अधिकारीको शिसुवास्थित खेतमा रोपाइँमा नगएपछि करार अवधि नथपिएको आरोप लगाए । ‘रोपाइँको अघिल्लो दिन शुक्रबार बिहानदेखि बेलुकासम्म स्याङजा लगेर ल्याउने काम गरे’ उपाध्यायले भनेका छन् ‘राती अबेरसम्म पनि गाडी चलाउँदा भोलीपल्ट रोपाइँमा जान सकिन ।’

 

रोपाइँमा नगएकै दिनदेखि प्रमुख आफुसँग रुष्ट भएको र आर्थिक वर्ष सकिएलगत्तै आफुलाई जागिरबाट निकालेको उनको आरोप छ । दिनभर काम गरेर बेलुका ८ बजे घर फर्किएपछि थकाइकैकारण हाकिम खुशी बनाउन नसकेको उनले जनाए ।

 

‘रोपाइँको दिन शनिबार थियो, हाकिमसाबले अर्काे गाडी खोज्नुभएको थियो’ उपाध्यायले भने ‘म जान सकिन, पछि म्याडमले पनि यही विषयमा गुनासो गर्नुभयो ।’
 

 

प्रमुखले साउन १ गतेदेखि नआउनु भनेपछि कार्यालयमा बुझ्न जाँदा तलब खुवाउन नसकेको, बुढो भएको भनिएको उपाध्यायले बताए । 

 

मालपोत प्रमुख भने उपाध्यायको भनाइप्रति असहमत छन् । उनले शुक्रबार दिनभर चालक व्यस्त भएको र शनिबार पनि कार्यालयकोतर्फबाट केही काम परेकाले उनलाई बोलाएको बताए । 

 

‘त्यतिबेला प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरु पोखरामा हुनुहुन्थ्यो‘ प्रमुख भन्छन् ‘आफिसियल कामले चालकलाई बोलाएको हो ।’ उनले रोपाइँमा पनि एकपटक पुग्ने योजना भएको स्वीकार्दै चालकलाई बाउसे बनाउन नखोजेको स्पष्ट पारे ।

 

 

त्यस्तै, कार्यालयका अन्य कर्मचारीले पटकपटक उपाध्यायको कार्यक्षमता र अन्य पाटोबारे असन्तुष्टी जनाइरहेको प्रमुखले उल्लेख गरे । ‘मैले हटाउन चाहेको भए ६ महिना अघि नै हटाइसक्थे तर उनले आफुलाई सुधार्नेछन् भनेर समय दिएको हुँ,’ अधिकारीले भने । 

 

भूमि व्यवस्थापन तथा अभिलेख आयोगले पनि यस आर्थिक वर्षमा करारमा कर्मचारी नराख्न निर्देशन दिएको र उपाध्यायको कार्य सम्पादनमा बाराम्बार प्रश्न आएपछि नियमसंगतरुपमै करार अवधि नथपिएको अधिकारीले बताए । 

 

‘उनी रिसाहा र अटेरी थिए, राम्रै गरेको भए ड्राइभर त चाहिन्छ नै’ अधिकारीले थपे ‘पछि बोलाउन पनि सकिन्थ्यो तर उनले अनावश्यक हंगामा गर्नेतर्फ लागे ।’

 

तर चालक उपाध्यायले भने आफुबाट कुनै गल्ती भए त्यसलाई सुधारेर काम गर्ने भनिरहँदा पनि नियतवश निकालिएको दाबी गरेका छन् । 

 

‘अब गाडी कसले चलाउँछ त ?’ भन्ने प्रश्नमा प्रमुख भन्छन् ‘निवासदेखि कार्यालयसम्म म आफै चलाउँछु, पछि आवश्यक परेको खण्डमा हिमलाललाई पनि राख्न सकिन्छ, अरु आउन पनि सक्छन् ।’
 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्