शीर्ष नेताबीच भएको सहमति २ घण्टा पनि टिकेन
काठमाडाैं | असार २४, २०८०

काठमाडौं: प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संसद् बैठक सञ्चालन गर्न भएको सहमति दुई घण्टा नबित्दै तोडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिंहदरबारमा बोलाएर छलफल गरेपछि संसद् चलाउनेबारे सहमति भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा बोलेको कुरा फिर्ता लिने र एमालेले संसद् चल्न दिने नेताहरूले सहमति गरेका थिए । दिउँसो १ बजे सहमति भएपछि ३ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी थियो । तर नेकपा एमालेले केही सर्त थपेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलि सोमवारका लागि आह्वान भएको छ ।
सिंहदरबारबाट बाहिरिएपछि संसद् भवन पुग्नुभएका एमाले अध्यक्ष ओलीले यसअघि माओवादीका नेताहरू र प्रधानमन्त्री प्रचण्डले एमालेमाथि लगाएका आरोप फिर्ता हुनुपर्ने, प्रचण्डको सचिवालयले निकालेको विज्ञप्ति खारेज हुनुपर्ने लगायतका माग थपेपछि सहमति तोडिएको माओवादीका नेताहरूले बताएका छन् ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि गएको बुधवारदेखि नै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरोध गरिरहेको छ । आज पनि एमालेका सांसदले राष्ट्रियसभाको बैठक चल्न नदिएपछि भोलिसम्मका लागि स्थगित भएको छ ।
ढोरपाटन: ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...
सप्तरी: मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय...