रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज

काठमाडाैं | जेठ ११, २०८०

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज

काठमाडौं:     वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।


भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।


डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।


मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।


आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । 


पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्