मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
म्याग्दी | चैत १४, २०७९
म्याग्दी: मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिना को कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो ।
सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।
“लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्रा भुवाको आठ सयवटा नमुना सङ्कलन गर्दछौँ”, उहाँले भन्नुभयो, “चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुना भुवा निकालिने छ ।”
चैत १३ देखि २२ गतेसम्म च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काट्न पस्मिना उद्योग सङ्घ, नार्क र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिमप्राप्त नौ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक नीना अमात्य (गोर्खाली), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिनुभएको थियो ।
“पश्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ”, अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विशेषज्ञ सिचन श्रेष्ठले भन्नुभयो, “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नस्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।”
राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख अमात्य ९गोर्खाली०ले मुस्ताङमा पहिलोपटक गरिने नमुना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो । “च्याङ्ग्राको पस्मिना राम्रो छ भन्ने गरिन्छ । तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो”, उहाँले भन्नुभयो, “यसैमा आधारित भएर नस्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”
प्राकृतिकरूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।
विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।
वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ ।
पर्वतः जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झ...
मधुकर अधिकारी (वासिङ्टन डिसी): विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।&nbs...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुन: म्याद थपका लागि अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा ...