लेखनाथको बहुउद्देश्यीय कभर्ड हल अलपत्र
पाेखरा | चैत ९, २०७९
गण्डकी: लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको छ । पोखरा-२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । बजेट अभावमा डेढ वर्षदेखि निर्माण ठप्प छ ।
पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो ।
चालु आवमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रु. एक करोड दस लाख खर्च भइसकेको उहाँको भनाइ छ ।
आव २०७४/०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु. ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।
त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु. २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. २५ लाख बजेट खर्च भइसकेको छ ।
उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।”
कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने उहाँको भनाइ छ । सुरुमा रु. तीन करोडको बजेट अनुमान गरिएपनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ ।
नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् ।
तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।”
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
“कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।”
लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो ।
रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताउनुभयो । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” रासस
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

