पीएनजीमाथि नेपालको सहज जित
काठमाडाैं | फागुन २९, २०७९

काठमाडौं: आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।
जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै २५ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झार्नुभयो ।
यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।
समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।
नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।
यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।
सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।
३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...