नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडाैं | फागुन २५, २०७९

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौं :  नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्।

 

पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत परिणाम आधिकारिक घोषणा हुन बाँकी छ ।

 

निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपतिको निर्वाचनमा राप्रपा, नेमकिपाका सांसदले मतदान गरेनन्। 

 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन्। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।  राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ। 

 

पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई थिए। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे थिए। 

 

नेम्वाङको प्रस्तावक र समर्थनमा एमालेले मात्र गरेको थियो। 

 

राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज निर्वाचन भएको हो। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११ हजार ७३० मतभार पाएकी थिइन्। २०७२ कात्तिक ११ गते उनी प्रथम महिला राष्ट्रपति बनेकी हुन्। 

 

यसैगरी पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। तत्कालीन संविधानसभाका कुल सदस्यबाट बहुमत प्राप्त गरी २०६५ सालमा साउन ८ गते उनी विजय भएका हुन्। तत्कालीन सबैभन्दा ठूलो दल नेकपा (माओवादी) का उम्मेदवार रामराजा प्रसाद सिंहलाई हराएर यादवले जितेका थिए। यादवलाई एमालेसहित विभिन्न साना दलहरूले समर्थन थियो।

 

को हुन् राष्ट्रपतिमा निर्वाचित पौडेल ? 

 

७८ वर्षका पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका हुन्। उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले। 

 

पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो। २०४४ सालमा केन्द्रीय सदस्य बने।

 

पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो। त्यसपछि स्थानीय विकासमन्त्री बने। कृषिमन्त्री पनि भए। २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए। २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे।

 

माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बने। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने। 

 

२०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन्। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मारेका थिए।

 

२०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। उनले २०७४ को निर्वाचन तनहुँ—१ मा हारे। यसपटक भने उनी तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। पौडेलले करिब १३ वर्ष जेल जीवन बिताए। 

 

उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।

चितवनः  अनुचित लेनदेन (मिटर ब्याज) का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र ...

थप पढ्नुहोस्

पर्वत:   सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपाल...

थप पढ्नुहोस्

ताप्लेजुङः  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।      आयोज...

थप पढ्नुहोस्