खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

काठमाडाैं | फागुन २१, २०७९

खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

गलेश्वर:  लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन ।

 

बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उहाँले भन्नुभयो ।

 

गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरूले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ ।”

 

खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउनुहुन्छ । खडेरीका कारण जनजीवन प्रभावित भएको उहाँको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उहाँले बताउनुभयो । हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ ।

 

बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरू बत्ताउँछन् । यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरूको भनाइ छ ।

 

म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

 

खेतबारीमै सुक्न थाल्यो बाली

 

यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो । यसवर्ष फागुन अन्तिमसातासम्म पनि  हिमपात र वर्षा हुन सकेको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् ।

 

सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताउनुभयो । “यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उहाँले भन्नुभयो ।

 

खेतमा लगाएको गहुँ, जौसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताउनुभयो ।

 

हिमपातको प्रतीक्षामा किसान

 

यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्‍याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन् ।

 

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।

 

हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो ।

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।   शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।  बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...

थप पढ्नुहोस्

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...

थप पढ्नुहोस्

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...

थप पढ्नुहोस्