एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी | फागुन ८, २०७९

एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण फाइल तस्बिर

 

 म्याग्दीः  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । 


आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो  । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।


गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, उहाँले भन्नुभयो ।


उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 


त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो । 


“हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन रु १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ । 


उद्यानलाई निःशुल्क जग्गादाता अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ । 


उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।   शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।  बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...

थप पढ्नुहोस्

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...

थप पढ्नुहोस्

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...

थप पढ्नुहोस्