दाताको भरमा आश्रम सञ्चालन

तनहुँ | फागुन २, २०७९

दाताको भरमा आश्रम सञ्चालन

तनहुँ:    तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । 


विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ ।  आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।
 

“जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।”


आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो । 


आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।


दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ । 


स्थापनाकालमा ३० महिलाले रु एक–एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”


उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ । 

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्