हरेक दिन प्रेम दिवस हो, फेब्रुअरी १४ कुर्नै पर्दैन: स्वामी योगानन्द

पाेखरा | फागुन १, २०७९

हरेक दिन प्रेम दिवस हो, फेब्रुअरी १४ कुर्नै पर्दैन: स्वामी योगानन्द

फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । जसलाई विश्वव्यापी मनाइने प्रचलन छ । प्रविधिले विश्वलाई नजिक ल्याइदिएपछि कुनैपनि दिन र दिवस निश्चित घेरमा कैद छैन । यसलाई ‘साझा’ मानिन थालिएको छ । र, यही आयतनमा फैलिइसकेको छ, फेब्रुअरी १४ । 

 

क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार सेन्ट भ्यालेन्टाइन नाम गरेका मात्र तीन क्रिश्चियन पादरी थिए । फरकफरक समयका यी तीनै भ्यालेन्टाइनलाई  १४ फेब्रुअरीकै दिन मारिएको थियो । 

 

धेरै प्रेमका विद्वानहरु के विश्वास गर्दछन् भने सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट् क्लाउडियस द्वितीयको आदेशविरुद्ध गएको आरोपमा ई.पू. २७० मा मृत्युदण्ड दिइएको हो । 

 

तथ्यभन्दा पनि लोकमत भन्छ, क्लाउडियस द्वितीयले महिलासँगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर बनाउला भनेर युवाहरुलाई विवाह र प्रेम गर्नबाट वञ्चित गरेका थिए । जुन कुरा क्रिश्चियन धर्मविरुद्ध हुने भएकाले चर्चमा गरिने विवाह कार्यक्रमलाई जारी राख्दै भ्यालेन्टाइनले युवाहरुलाई विवाह र प्रेमका लागि प्रेरित गरे । 

 

त्यसैले क्लाउडियसको आदेशमा उनलाई पक्राउ गरी फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेम अनि विवाहका लागि सहादत पाएका कारण उनको सम्झनामा विश्वभर भ्यालेन्टाइन डे मनाउन थालिएको हो । 

 

यही मेसोमा प्रेम, ध्यान र दर्शनको थलो मानिने ओशो उपवन पोखराका स्वामी योगानन्दसँग गरिएको भेटमा उनले भने ‘प्रेममा डुब्न, रमाउन फेब्रुअरी १४ नै कुर्नु पर्दैन ।’ 

 

स्वामी योगानन्द भन्छन्, ‘ओशोले प्रेम जहिँकहिँ सम्भव हुने बताउनु भएको छ । फेब्रुअरी १४ विम्ब हो, जसरी हरेक दिन सहिद दिवस मनाउन मिल्दैन त्यसरी नै हरेक दिन प्रेमको दिवस हुँदैन, तर प्रेम हुन्छ ।’

 

पछिल्लो समय प्रेम र भ्यालेन्टाइन डेमा देखिएको विकृतिप्रति भने स्वामीको फरक मत छ । ‘प्रेममा गलत नियत राखियो भने त्यो प्रेमनै होइन’ स्वामी भन्छन् ‘प्रेममा विकृति हुँदैन यदि यस दिनमा कसैले जबर्जस्ती गर्छ भने त्यो प्रेम होइन, स्वार्थ हो ।’

 

स्वामीका अनुसार कसैले त्यही दिन प्रेम प्रस्ताव राख्छु भन्छ भने के गलत भयो र ! ‘कसैले बोल्न वा भन्न सकेको छैन र त्यही दिन कृर्छ भने त्यसलाई नराम्रो मान्न भएन’ स्वामीले प्रष्ट्याए । 
 

 

कुनैपनि संस्कारले जीवन र समाजमा हानी गर्दैन भने खुलेर मनाउनु पर्ने धारणा राख्दै उनले हरेक पललाई महोत्सवकारुपमा लिनु पर्ने उल्लेख गरे । 

 

स्वामीका अनुसार जीवनलाई प्रेमिल, सुन्दर र जीवन्त बनाउनु आवश्यक छ । हरेक व्यक्ति यही चाहन्छ पनि तर सकिरहेका छैनन् । ‘के छन् त टिप्स् ?’ जवाफमा उनले ३ आधारभूत तर मुख्य बुँदा सुझाए । 

 

‘पहिलो टिप्स हो अन्डरस्टान्डिङ्’ स्वामी भन्छन् ‘तपाइमा प्रेमलाई वा भनौं आफ्नो प्रेमीलाई बुझ्न सक्ने क्षमता हुनुपर्छ ।’ जब अरुलाई बुझ्न सकिन्छ तबमात्र प्रेमलाई बुझ्न सकिने उनको भनाई छ । उनी भन्छन् ‘स्वयंलाई बुझेर मात्र प्रेम सम्भव छैन । अर्थात्, दुखाइको महशुस समान हुनुपर्छ । जहाँबाट प्रेम अंकुरण हुन्छ ।

 

त्यस्तै, दोस्रो टिप्स छ ‘रेस्पेक्ट ।’ आदराभाव नभए अंकुरित प्रेम हुर्कन सक्दैन भन्दै स्वामीले अनादर वियोगको पहिलो खुड्किलो भएको सुनाए । 

 

‘प्रत्येक मान्छे प्रेममा आदर खोज्छ, सम्मान चाहन्छ’ उनले भने ‘प्रेमलाई जीवन्त बनाउन तपाइले अर्काे मुटु (प्रेम)लाई सम्मान गर्नैपर्छ नत्र तपाइ मान्छे त हो तर प्रेमी होइन ।’

 

त्यस्तै स्वामीका अनुसार स्वयंमा खुशी हुनसक्नु तेस्रो महत्वपुर्ण टिप्स हो । स्वामी भन्छन् ‘तपाइ अरुबाट खुशी हुन सक्नुहुन्न, कुनैपनि रिलेशन वा प्रेमले कसैलाई पनि खुशी दिन सक्दैन ।’

 

यसबारे थप व्याख्या गर्दै उनले स्वयंसँग खुशी हुन सक्ने, आफै प्रेमिल हुन सक्नेले मात्रै अरुलाई प्रेम गर्न सक्ने दर्शन सुनाए । ‘जो आफैसँग खुशी हुन सक्दैन उसले अरुलाई प्रेम गर्न कदापि सक्दैन’ दार्शनिक शैलीमा स्वामी भन्छन् ‘यहाँ सबै प्रेमको भिख मागिरहेका छन्, तर तपाइ स्वयं भिखारी हो भने कसरी भिख दिने ?’

 

ओशो भनाइ राख्दै स्वामीले सबैभन्दा पहिले आफै भरिनुपर्ने उल्लेख गरे । अन्यथा, आफै भिखारी भए अरुलाई दिन सकिँदैन । जसको अर्थ हो आफैसँग खुशी हुनसक्ने दक्षता । 

 

‘तरैपनि किन वियोगका कथाहरु बढी पढिन्छन्, सुनिन्छन् ?’ स्वामीको जवाफ छ ‘अरुबाट खुशी पाउने चाहना, जो मान्छे खुशी खोज्न भौतारिन्छ त्यहाँबाट सुरु हुन्छ वियोगको यात्रा ।’ उनका अनुसार आत्मज्ञानको कमी मानव

 

जीवनको ठूलो समस्या हो । उनले भने ‘उज्यालो र खुशी आफैभित्र हुन्छ तर मान्छे अरुसँग तुलना गर्दै अँध्यारोमा फँस्छ ।’

 

केही हतारमा रहेका स्वामीले संवादको अन्त्य गर्दै भने, ‘फाइनल्ली, भेरी ह्याप्पी भ्यालेन्टाइन्स डे !’
 

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा...

थप पढ्नुहोस्

स्याङ्जाः   दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ ।   वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउ...

थप पढ्नुहोस्

पोखरा:  वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ...

थप पढ्नुहोस्