बाबुसँग लेनदेन नमिलेपछि छोरा अपहरण, ४ करोड फिरौती माग

काठमाडाैं | माघ १७, २०७९

बाबुसँग लेनदेन नमिलेपछि छोरा अपहरण, ४ करोड फिरौती माग

बिर्तामोड:  झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा  बिर्तामोडका  २१ वर्षीय राजीव बस्नेत  प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् । 


सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा  राजीवलाई माघ ५ गते  श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको थियो ।


साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । उहाँको अपहरण गरेर छोराको रिहाइका लागि ४ करोड रुपियाँ  फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो । 


अपहरणकारीले राजीवलाई युवतीको प्रभावमा पार्दै अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई पक्राउ गर्न सफल बनेसँगै राजीवको नजिक प्रहरी पुगेको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अपहरण गरेर  भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको  प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो  ।


व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । 


मणिपुरका  भण्डारीले बिर्तामोडका कमल बस्नेतसँगको  लेनदेन मिलाउन उनका छोराको प्रयोग गरेर रकम असुल गर्ने योजना बनाएको पाइएको छ  । भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ  । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ  ।


विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले  कमलका छोरा २१  वर्षीय राजीवलाई घुम्न जाने योजना बनाएर अपहरण गर्न सफल बनेको हुन् । यसै क्रममा माघ ४ गते पर्यटकीय क्षेत्र सालबारी झिल घुमेर ५ गने अर्को पर्यटकीय स्थल इलामको कन्याम घुन जाने भनी लगी एकाएक अपहरणकारीको फन्दामा राजीव परेको प्रहरीले जनाएको छ । युवतीको फन्दामा परि अपहरणमा परेका राजीवको परिवारसँग  नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गरेसँगै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो । 


अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरीको भनाइ छ  ।


अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।

चितवन:  मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना द...

थप पढ्नुहोस्

पोखरा:    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।  क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छ...

थप पढ्नुहोस्

कैलाली:     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  ...

थप पढ्नुहोस्