काजी पाँडेको योगदानको स्मरण
काठमाडाैं | जेठ १९, २०७९
काठमाण्डौँः नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण (प्रोसेस अफ नेपलाइजेशन) को विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा सङ्घीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताउनुभयो ।
उहाँले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । लेखक मैनालीले काजी पाँडे सैन्य र कूटनीतिक दुवै मोर्चामा अग्रणी तथा जनताबाट पनि रुचाइएकाले तत्कालीन राजा पृथ्वीनारायण शाहले विश्वास गरी प्रमुख मन्त्री बनाएको सन्दर्भ स्मरण गराउनुभयो । काजी भीमराज पाँडेका छोरा पाँडेको नेतृत्व (दलमुख) मा नुवाकोट, बेलकोट, नालदुम, तादी, सिरान्चोक र कीर्तिपुरमा लडाइँ भएको थियो ।
विसं १७७० मा जन्मिएका काजी पाँडेले विसं १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए । त्यसबेला गोरखा राज्यले कीर्तिपुर राज्यमाथि हमला गर्ने अनुकूल समय नभएको भनेर पाँडेले सुझाव दिँदा राजा पृथ्वीनारायण शाहले ‘मर्न डर लाग्यो ’ भन्ने प्रश्न गरेपछि पाँडे लडाइँको मोर्चा सम्हाल्न तयार भएका थिए । काजी पाँडेलाई पृथ्वीनारयण शाहले जनताको चाहनाबमोजिम नै प्रमुखमन्त्री नियुक्त गरेको इतिहासबाट पाँडेको त्यसबेलाको लोकप्रियता झल्कन्छ ।
पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा विसं २०७८ मा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नं १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीबाट पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कीर्तिपुर लडाइँमा जानुपूर्व काजी पाँडेले आफू लडाइँमा मारिएमा गोरखा (मनकामना) देखिने गरी शव गाडिदिनु भनेकाले दहचोकको डाँडामा समाधिस्थल बनाइएको हो । सुरुमा उहाँको शव गाडिएको स्थललाई सामन्य ढुङ्गाहरुले छोपेर राखिएकमा प्रतिष्ठानले त्यहाँ निजी जग्गा खरिद गरेर व्यवस्थित समाधिस्थल निर्माण गरेको हो । दहचोक भ्यूटावर र विन्ध्यवासिनी मन्दिर नजिकै रहेकाले पनि समाधिस्थलको पर्यटकीय महत्व पनि रहेको छ ।
सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी,नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताउनुभयो । माइतीघरबाट भद्रकालीसम्मको सडकमार्गलाई काजी दामोदर पाँडे मार्ग नामकरण गर्न पनि माग गर्नुभयो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

