काजी पाँडेको योगदानको स्मरण

काठमाडाैं | जेठ १९, २०७९

काजी पाँडेको योगदानको स्मरण


काठमाण्डौँः   नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो ।  सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण (प्रोसेस अफ नेपलाइजेशन) को विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा सङ्घीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताउनुभयो ।

 

उहाँले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । लेखक मैनालीले काजी पाँडे सैन्य र कूटनीतिक दुवै मोर्चामा अग्रणी तथा जनताबाट पनि रुचाइएकाले  तत्कालीन राजा पृथ्वीनारायण शाहले विश्वास गरी प्रमुख मन्त्री बनाएको सन्दर्भ स्मरण गराउनुभयो । काजी भीमराज पाँडेका छोरा पाँडेको नेतृत्व (दलमुख) मा नुवाकोट, बेलकोट, नालदुम, तादी, सिरान्चोक र कीर्तिपुरमा लडाइँ भएको थियो ।

 

विसं १७७० मा जन्मिएका काजी पाँडेले विसं १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए । त्यसबेला गोरखा राज्यले कीर्तिपुर राज्यमाथि हमला गर्ने अनुकूल समय नभएको भनेर पाँडेले सुझाव दिँदा राजा पृथ्वीनारायण शाहले ‘मर्न डर लाग्यो ’ भन्ने प्रश्न गरेपछि पाँडे लडाइँको मोर्चा सम्हाल्न तयार भएका थिए । काजी पाँडेलाई पृथ्वीनारयण शाहले जनताको चाहनाबमोजिम नै प्रमुखमन्त्री नियुक्त गरेको इतिहासबाट पाँडेको त्यसबेलाको लोकप्रियता झल्कन्छ ।

 

पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा विसं २०७८ मा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नं १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।

 

सो अवसरमा राष्ट्रपति भण्डारीबाट पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कीर्तिपुर लडाइँमा जानुपूर्व काजी पाँडेले आफू लडाइँमा मारिएमा गोरखा (मनकामना) देखिने गरी शव गाडिदिनु भनेकाले दहचोकको डाँडामा समाधिस्थल बनाइएको हो । सुरुमा उहाँको शव गाडिएको स्थललाई सामन्य ढुङ्गाहरुले छोपेर राखिएकमा प्रतिष्ठानले त्यहाँ निजी जग्गा खरिद गरेर व्यवस्थित समाधिस्थल निर्माण गरेको हो । दहचोक भ्यूटावर र विन्ध्यवासिनी मन्दिर नजिकै रहेकाले पनि समाधिस्थलको पर्यटकीय महत्व पनि रहेको छ । 

 

सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी,नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताउनुभयो । माइतीघरबाट भद्रकालीसम्मको सडकमार्गलाई काजी दामोदर पाँडे मार्ग नामकरण गर्न पनि माग गर्नुभयो ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्