पाँच वर्षदेखि आँखेताललाई धार्मिक पर्यटनसँग जोड्न युवाहरु जुट्दै
पाेखरा | पुस २४, २०७९
गण्डकी: तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियान सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्।
पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौंडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ।
परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्धनमा जुटेका हुन्।
चार वर्षअघि सुन्दरीगाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए। उनीहरुबाट ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखेताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिनुभयो।
ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गर्नुभएको छ।
मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ। “निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ”, सचिव ढकालले भन्नुभयो।
यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उहाँले जानकारी दिनुभयो। उहाँले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो।
मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट रू दुई लाख ५० हजार र वडा नं २ बाट रू ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत जुटाइएको छ।
यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परापूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन्। युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ।
आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताउनुभयो।
यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उहाँले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गर्नुभयो। यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उहाँको भनाइ छ।
कोत्रे तथा गगनगौंडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताउनुभयो।
जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ। त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ।
ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो। त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखेताल भनिएको उहाँले बताउनुभयो।
युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ।
पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो। पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन्।
पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौंडाबाट आँखे तालसम्म आठरदश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ।
खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...
पाेखरा: नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...