जुम्ली स्याउलाई बजारीकरणको अभाव
जुम्ला | मंसिर २९, २०७९
जुम्ला: बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।
सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाउनुभएको छैन । उनले भने, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।” बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ ।
जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्। उनले भनिन्, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।”
स्याउ उत्पादन बढ्यो
जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यसअघि व्यवसायीले प्रतिकिलो रु ५० देखि रु ५५ मा स्याउ खरिद गरी रु ६७ देखि रु ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए ।
जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ । “मैले प्रतिकिलो रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित रु ६० मा नेपालगञ्ज पुर्याए । तर प्रतिकिलो रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

