स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

स्याङ्जा | मंसिर १४, २०७९

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ:   स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । 


कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 


“यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैँचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ ।


अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ ।


गत वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले रु चार लाख आम्दानी हुने बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष रु चार लाखमा ठेक्का दिइसकेको छु ।”


ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष रु २२ लाखको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताउनुभयो ।


गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर रु २२ लाख आम्दानी गर्नुभएका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उहाँको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् । 


जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउनुहुन्छ । रु २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उहाँको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताउनुभयो । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।


आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् । 


आव २०७७/७८ जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा रु ५५ करोडको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् ।

काठमाडौं:  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।   निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्द...

थप पढ्नुहोस्

कञ्चनपुर:  कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।    बुधबार  गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...

थप पढ्नुहोस्