म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय
म्याग्दी | मंसिर १४, २०७९
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थापना भएको पुन सङ्ग्रहालय अवलोकन गर्दै
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो । सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मङ्गलबार उद्घाटन गर्नुभयो । सङ्ग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगतरूपमा रु ८१ लाख ८३ हजार एक सय ३८ सहयोग जुटेको र रु ८० लाख ३९ हजार तीन सय ४५ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले बताउनुभयो ।
“अन्नपूर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन्”, उहाँले भन्नुभयो, “बाँकी स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । रु एक लाख ४३ हजार सात सय ९३ बचत भएको छ ।”
कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखिएको छ । करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको बताउनुभयो ।
सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने पुन समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राखिएको छ । पुराना पुस्तक र धातुका सिक्का पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । विस २०७८ वैशाखमा निर्माण सकिएको भवनमा सामग्री जुटाउने र सजावटको काम सकिएपछि अवलोकनका लागि खुला गरिएको हो । परम्परागत शैली र प्रविधिको प्रयोग गरेर निर्माण गरिएको दुईतले भवनमा सामग्री सजावट गरेर राखिएको छ ।
ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले भवन निर्माण गरिएको छ । पुन समुदायको अगुवाइमा सङ्ग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । पुन समुदायका कूलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।
स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् ।
मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरूले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मङ्गलबार र मङ्सिरको पहिलो उजेली मङ्गलबार पारेर पूजा गर्छन् ।
करबाकेलीसम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जनाभन्दा बढी पाहुना बास बस्न सक्ने सुविधा छ ।
समुद्री सहतबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।
नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउनुभयो ।
पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

