रुपन्देही–३ मा राप्रपाका बोहरा निर्वाचित , गृहमन्त्री खाण पराजित

रूपन्देही | मंसिर १०, २०७९

रुपन्देही–३ मा राप्रपाका बोहरा निर्वाचित , गृहमन्त्री खाण पराजित

रुपन्देहीः   मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । 


‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको प्रतिनिधिसभाको निर्वाचन २०७९ अन्तर्गत गृहमन्त्री सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई दुइहजार छ सय ८१ मत अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


बोहोराले ३६ हजार सात सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो । 


राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गर्नु पाउनुभएन । हाल चिकित्सकको सल्लाहअनुसार नै उहाँले ‘स्पीच थेरापी’ गरिरहनुभएको छ । सभा समारोहमा उपस्थित भए पनि उम्मेदवार बोहराले कहीँ पनि मन्तब्य राख्नुभएन । उहाँका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गर्नुभएको थियो ।  


बोहरा कोरोना महामारीको दोस्रो लहरमा चलेका बेला २०७७ जेठमा सङ्क्रमित हुनुभएको थियो । त्यतिबेला उहालाई खासै समस्या देखिएको थिएन । “उहाँलाई त्यतिबेला ज्वरो, खोकीलगायतका सामान्य लक्षण मात्रै देखिएका थिए । घरमै बसेर आराम गर्दा ठीक भएको थियो”, राप्रपा नेता स्वाती थापाले भन्नुभयो ।


निर्वाचन अवधिभर बोहरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी हुनुभयो तर, कतै बोल्नुभएन । स्वातीका अनुसार बोहराले नै तीन दलीय नेताहरुलाई क्षेत्रभरि आफैँ परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको छलफल गर्ने र कार्यक्रममा सहभागी भइरहने काम गर्नुभयो ।


चुनावी प्रचारको सुरुआतमा आफ्ना कुरा कागजमा लेखेर अरुलाई बोल्न लगाउने गरिए पनि पछि त्यो झन्झट भएपछि पार्टीका नेताहरुले नै सम्बोधनमार्फत बोहराका प्रतिबद्धता राखिदिने गर्नुभएको थियो ।


गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण र राप्रपाका नेता दीपक बोहरा अघिल्लो आम निर्वाचनमा सहयात्री हुनुहन्थ्यो । विसं २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा निर्वाचन लड्नुभएको थियो । त्यसबेला बोहरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँड्नुभएका गृहमन्त्री खाण अहिले प्रतिस्पर्धी हुनुभयो । 


विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी हुनुभएका नेता बोहोरा २०७४ मा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पराजित हुनुभएको थियो । 


राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो । 


त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बन्नुभएका राप्रपा नेता बोहरा २०५७ मा बैंक अफ काठमाडौँको अध्यक्ष बन्न्नुभएको थियो । बोहरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएको थियो ।


विस २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका बोहोरा २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बन्ने अवसर पाउनुभयो ।


जिल्लाको सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिनुभएको हो । बोहरा राजनीतिशास्त्रमा स्नातक हुनुहन्छ ।

कैलाली:     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।    शर्म...

थप पढ्नुहोस्

बागलुङ:      चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहिबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टु...

थप पढ्नुहोस्