सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ : वरिष्ठ नेता पौडेल

तनहुँ | जेठ ११, २०७९

सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ : वरिष्ठ नेता पौडेल

दमौली:   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गर्नुभयो । 

 

   जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । “जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो । 

 

   वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्ने उहाँको जोड दिनुभयो । “समाज विकासका लागि आफैँ अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन् ” पौडेलले भन्नुभयो, “समाजका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प बोक्नुपर्छ ।”

 

    वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो, “आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैँले आफैँलाई चिन्नुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ ।” राजनीतिक रुपमा मात्र नभई सामाजिक र आर्थिक रुपमा समेत परिवर्तन भइरहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । 

 

   कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाको फोहरमैला समस्याका रुपमा रहेकाले त्यसलाई समाधान गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । 

 

    केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा देशमा विकास भएको र त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव प्रदीपराज अधिकारी, नेकपा  एकीकृत समाजवादीका सचिव श्रीराम कार्की लगायतले व्यास नगरपालिकाको विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावना बुझेर काम गर्ने बताउनुभयो ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...

थप पढ्नुहोस्

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्