धवलागिरी अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स
बाग्लुङ | मंसिर २, २०७९

बलेवाः एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो ।
फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताउनुभयो । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उहाँको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो ।
एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख खर्चेको हो । अष्टे«लियामा रहेका नेपालीले रु ४८ लाख र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै रु ३२ लाख सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताउनुभयो ।
“अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ”, न्यूरेले भन्नुभयो, “हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।” यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो ।
बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौँलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । “मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन”, न्यूरेले भन्नुभयो, “अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।”
एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...
पर्वत: पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका ...
झापा: झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद ल...