बागलुङको सर्वसिद्धिधाम पञ्चकोट चिनाउन दोहोरी

बाग्लुङ | कात्तिक १४, २०७९

बागलुङको सर्वसिद्धिधाम पञ्चकोट चिनाउन दोहोरी

बागलुङ : शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । 

 

चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो । 

 

चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक÷गायिकाको रोचक सवालजवाफले दर्शकदीर्घाबाट वाहीवाही पायो । कलाकारले पञ्चकोटको महत्व र प्राकृतिक महिमालाई पनि गीतमा उतारे । रोधीघरका सञ्चालक राजन क्षेत्रीले पञ्चकोटलाई चिनाउन प्रत्यक्ष दोहोरी राखिएको बताउनुभयो ।

 

“आफू जन्मेको ठाउँ, आफ्नो मातृभूमिको प्रचार होस्, पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर दोहोरीको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यहाँ छायाङ्कन गरिएको कार्यक्रम युट्युबलगायतका माध्यमबाट पनि प्रसारण हुन्छ ।”

 

सञ्चालक क्षेत्रीले युट्युबलाई सामग्री मात्र बनाउन नभई पञ्चकोटको प्रवद्र्धन गर्नु आफूहरुको मुख्य ध्येय रहेको उल्लेख गर्नुभयो । हालै अमेरिकाबाट आउनुभएका क्षेत्रीको घर पनि पञ्चकोट नजिकैको सिम गाउँमा पर्छ ।

 

वाद्यवादकसहित झण्डै ५० जना कलाकारलाई रोधीघरले पञ्चकोटमा जमघट गराएको थियो । बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले कलाका माध्यमबाट पञ्चकोटको प्रवद्र्धन गर्न सो कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 

“धेरै कलाकार एकसाथ आएर यहाँ प्रस्तुति दिँदा राम्रो सन्देश प्रवाह भएको छ, लोकदोहारी हाम्रो मौलिक संस्कृति पनि भएकाले यसबाट पञ्चकोटको चिनारी बढाउनमा पनि अवश्य टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

 

चर्चित कलाकारको दोहोरी सुन्न आतुर स्रोता/दर्शकको बिहानैदेखि पञ्चकोटमा चहलपहल थियो । बिदाको दिन परेकाले बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकको पनि उस्तै चाप देखिन्थ्यो । पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्यका रुपमा दरिँदै आएको छ ।

 

मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक पञ्चकोट पुग्छन् । देशका विभिन्न भागबाट धर्मवलम्बीसहित पर्यटक आउने गरेको पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताउनुभयो । 

 

पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो एक सय ३५ फिटको विश्वशान्ति कलश र पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ । 

 

कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गर्नुभएको थियो । हालसम्म पञ्चकोटमा रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । 

 

धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ । 

 

पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायतका संरचना बनीसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठ, मन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । पञ्चकोट नेपालका एक सय एक गन्तव्यमध्येमा पर्छ । बागलुङ बजारदेखि आठ किमिमा पञ्चकोट पर्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ । 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्