पालैपालो रोटी पकाउन व्यस्त महिला

कैलाली | कात्तिक ६, २०७९

पालैपालो रोटी पकाउन व्यस्त महिला

 

कैलाली । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् ।


उहाँहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ”, जैसीले भन्नुभयो, “तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ”, उहाँले भन्नुभयो, “एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।” तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ । 


लम्कीचुहाकी झरना विक र उहाँका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । “तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ”, उहाँले भन्नुभयो, “मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।”


यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । “छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ”, उहाँले भन्नुभयो, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताउनुभयो । “छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्”, उहाँले भन्नुभयो, “तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।”


जोशीपुरकी झुमा शर्मा पनि तिहार नजिकिएपछि व्यस्त हुनुहुन्छ । हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन माइत जाने तयारीमा रहेकी झुमा किनमेल र विभिन्न थरिका रोटी पकाउन व्यस्त हुनुहुन्छ । “चार दाजुभाइ छन्, सधैँ माइतीमै टीका लगाउने गर्छौँ, चार भाइका लागि चार पोका कोसेली तयार गर्दैछु”, उहाँले भन्नुभयो, “चिल्ला रोटी नपकाए कोसेली के लैजाने भन्ने समस्या हुन्छ । रोटी त पकाउनैपर्छ ।”


तिहारमा खाइने रोटीमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । तर कतिपयले तिहारलाई सरल तरिकाले समेत मनाउन थालेका छन् । टीकापुरकै सरिता साउद भने सामान्य तवरले तिहार मनाउनुहुन्छ । “तिहारमा अनावश्यक चिल्ला रोटी पकाउँदैनौँ, तिहारमा आवश्यक मसला भाइलाई कोसेलीका रूपमा दिन्छौँ, कोसेलीमा काजु, बदाम, नरिवल, फलफूल दिइन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलो खेल्नेलाई पनि फलफूल प्रसादका रूपमा दिने गर्दछौँ, पाके पनि सेलरोटीसम्म पाक्छ । नभए चिल्ला र गुलिया रोटी प्रयोग घटाएका छौँ ।”


यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिनुहुन्छ । “हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ”, उहाँले भन्नुभयो, “खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।”

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्