ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी
बाग्लुङ | असोज २८, २०७९
बागलुङ । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउने गरेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन् । घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने हुँदा उनीहरुले ऊनको कपडा बढी प्रयोग गर्छन् । यहाँका अधिकांश स्थानीयवासीले सयौँको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरुले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन् ।
निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ । कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मासु स्थानीयस्तरमै बिक्री हुने गरे पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गर्दछ । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ । युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन् ।
तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षको हुनुहुन्छ । उहाँले अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौँबाट कपडा बनाउँदै आउनुभएको छ । ऊनबाट बन्ने कपडा सानैबाट बनाउन सिक्दै आउनुभएकी छलीमायाले यो सीप आमाबाट सिक्नुभएको हो तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उहाँको गुनासो छ ।
“मैले सानैदेखि बुन्दै आएको हुँ, सानोमा आमाले बुनेको देखेँ, गाउँमा छरछिमेकीले पनि बुन्ने गर्थे, त्यसपछि मैले पनि बुन्न थाले, अहिलेसम्म बुन्दै छु, हात चल्दासम्म बुन्छु नै”, छलीमाया भन्नुहुन्छ, “अहिलेका युवापुस्ताले यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिँदैनन्, भेडाबाख्रा पाल्नै छोडे, हाम्रो सासपछि यो सबै हराएर जान्छ होला, मैले नातिनातिनीलाई सिकाउन धेरै खोजेँ तर चासो दिएनन् ।” आफूहरु सानो हुने बेला सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौँबाटै डसना र सिरक बनाएर प्रयोग गरेको स्मरण छलीमाया गर्नुहुन्छ ।
“हामी सानोसानो हुँदा गाउँमा कपडा पाइँदैनथ्यो, अहिलेको जस्तो सिरक, डस्ना भन्ने बजारबाट आउँदैनथे, गाउँमै बाउआमाले भेडाको रौँबाटै बनेका घुम, काम्लो प्रयोग गर्नुपथ्र्यो, कपासको कपडा त धेरैपछि आएको हो हाम्रो ठाउँमा”, उहाँ भन्नुहुन्छ, “अहिले सबै कपासबाट बनेका सिरक डस्ना ओड्ने दोछ्याउने गर्छन्, त्यसले गर्दा पनि नयाँपुस्ताले ऊनबाट बन्ने कपडा बनाउन छोडे, यता तिर बिक्री पनि हुन छोडे, बरु विदेशतिर बढी जान्छ ।”
ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए । हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे, मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे, अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडेँ ।”
रौँबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको फूलकुमारीको भनाइ छ ।
“पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ” उहाँ बताउनुहुन्छ, “काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ ।”
पहिले एक जनाले कम्तीमा दुई सयदेखि चार सयसम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले मात्रै भेडा पाल्ने गरेको फूलकुमारीकोे भनाइ छ । “उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्ने गर्थे, एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो, कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्”, उहाँ बताउनुहुन्छ, “पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किलपर्ने छ, भेडा पनि लोप हुन लागेका छन् ।”
ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम रु सात हजारदेखि रु ५० हजारसम्म पर्ने गरेको स्थानीयवासीको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विक बताउनुहुन्छ । पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले मागसमेत घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातित कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उहाँको भनाइ छ ।
स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि राम्रो आम्दानी गर्न सक्ने उल्लेख गर्दै पुतली स्वदेशमा बढीमा रु ३० हजारसम्म पर्ने ऊनको कपडालाई विदेशमा रु ५०हजारदेखि रु एक लाखसम्मपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ऊनको कपडाको मूल्य निकै बढेको छ, स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएको हुँदा न्यून आय भएका नागरिकलाई गाउँपालिकाले यो सीप सिकाएर, आयआर्जनसँग जोड्नसके राम्रो हुने थियो, गरिबको जीवनशैली पनि बदलिने थियो ।”
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

