दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित
पाेखरा | असोज २६, २०७९
पोखरा : मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन् ।
दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने ।
दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।
राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् ।
एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।
मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए । ‘सत्ता गठबन्धनले मनाङेलाई सघाएको हो । अरु थाहा भएन,’ उनले भने ।
राजीवले एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि राजीव गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

