राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

म्याग्दी | असोज १८, २०७९

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

बेनी  :  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । 

 

सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ । 

 

उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

 

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ ।

 

नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्