‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’
दाङ | असोज ११, २०७९
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।”
अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ ।
माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”
माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् ।
हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् ।
कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

