मकै पोलेरै टर्छ छाक

कञ्चनपुर | असोज ६, २०७९

मकै पोलेरै टर्छ छाक

 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्नुहुन्छ । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । वृद्ध अवस्थामा पनि उहाँको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उहाँले बताउनुभयो ।
    

“पानी पर्यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।” उहाँले भन्नुभयो, “मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट  दैनिक पाँच सय जति आम्दानी हुन्छ  ।” दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताउनुभयो । “पोलेको मकै एउटा रु २५ मा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।” उहाँले भन्नुभयो,“मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ”
    

विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उहाँ एकल हुनुभयो । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । “एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।” उहाँले भन्नुभयो–“अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।” धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आउनु भएको छ । 
    

“छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,” उहाँले भन्नुभयो–“अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।” छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताउनुभयो । “जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,” उहाँले भन्नुभयो,“दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।” सानै उमेरमा बिहे गर्नुभएकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताउनुभयो । 

 

“अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।” उहाँले भन्नुभयो,“सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।” जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताउनुभयो ।

 

 उहाँ जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहनुभएको छ । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आउनु भएको छ । “अन्य रोजगारी केही छैन पोलेको कमै बेचेर जीवनयापन गरिरहेका छौँ ।” उहाँले भन्नुभयो ।

 

“खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।” पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । “बुढाबुढी दुबैको कमाइ दिनको रु एक हजार ५०० जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।” उहाँले भन्नुभयो–“छोराछारीको स्कुल खर्च  पनि यसैबाट चलेको छ ।” महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्