कैलालीको बाढीले पोखरीका माछा बगेपछि मारमा किसान
कैलाली | असोज ५, २०७९
टीकापुर । गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् ।
भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् । सबै किसानका पोखरीका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पाल्नुभएको थियो । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए । “माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो”, उहाँले भन्नुभयो, “आम्दानी लिने बेलामा बाढीले सखाप पार्यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौँ ।”
चौधरीका माछासँगै बङ्गुरसमेत बगेका छन् । उहाँका बङ्गुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका छन् । “कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन”, उहाँले पीडा सुनाउनुभयो, “न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बङ्गुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन ।”
बाढी आएपछि भजनी–८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उहाँले पनि दशैँ–तिहारमा माछा बेच्ने तयारी गर्नुभएको थियो । “दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए”, उहाँले भन्नुभयो, “लाखौँको क्षति भयो ।”
भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उहाँले रु ६० हजारका माछाका भुरामात्रै हाल्नुभएको थियो । उहाँको पोखरीमा आधा किलोसम्मका माछा भएका थिए । “माछा दशैँ–तिहारमा बजारमा पठाउने तयारीमा थियौँ, लगानी जति सबै भइसकेको थियो, उत्पादन बजार पठाउने र आम्दानी लिनेबेला ब्रजपात प¥यो”, सन्तोषले भन्नुभयो, “विपद्ले पनि किसानलाई बढी पीडा दिने रहेछ । न माछा रहे, फुलिरहेको धानखेती पनि रहेन, अब कसलाई के भन्नु रु”
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो । “अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ”, उहाँले भन्नुभयो, “एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।”
बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् । भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्याङ्क छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।
जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले निरीक्षण गर्नुभएको छ । मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गर्नुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

