कौसीखेतीले बढाउँछ खुसी

काठमाडाैं | बैशाख २४, २०७९

कौसीखेतीले बढाउँछ खुसी

विष्णु थकाली

कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । 

 

प्रायःजसो घरमा चार/पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।

 

ठाउँको छनोट– तरकारी लगाउनुअघि ठाउँको छनोट गर्न आवश्यक छ । हामी छत, कौसी, आँगन कहाँ तरकारी खेती गर्दै छौँ, त्यसअनुसार तरकारी लगाउने भाँडा र तरकारीको छनोट गर्नुपर्छ । छतमा गर्नु हुन्छ भने पानीट्याङ्कीको विपरीत दिशा रोजेर घाम लाग्ने र हावा चल्ने ठाउँ हुनु आवश्यक छ । गमला वा भाँडा राख्दा घरको पर्खालमा पर्ने गरी राख्नु पर्छ, जसले घरको सन्तुलन बनाई राख्छ ।

 

भाँडाको छनोट– बिरुवा र ठाउँअनुसार भाँडाको छनोट गर्नुपर्छ । बोटबिरुवाको जराको गहिराइअनुसार भाँडा ठूलो वा सानो छनोट गर्नुपर्छ । छत वा कौसीमा खेती गर्दा हल्का खालको भाँडा तयार गर्नुपर्छ । छत वा कौसीमा अनावश्यक भार पार्नु हुँदैन । माटोको शुद्धीकरण– सर्वप्रथम माटोमा भएका अनावश्यक झारपात र रोगलाई नष्ट पार्नका लागि माटोको शुद्धीकरण गर्दा राम्रो हुन्छ । यसका लागि माटोमा भएका डल्ला राम्रोसँग फोरेर अलिअलि पानी छर्केर पारदर्शी प्लास्टिकले हावा नछिर्ने गरी छोपेर कम्तीमा २४ घण्टा पारिलो घाममा पातलो गरी सुकाउनु पर्छ । 

 

बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । 

 

माटोको तयारी– नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रभित्र पर्छ । तसर्थ कौसी वा छतलाई अनावश्यक भार दिनु हुँदैन । हलुका बनाउनका लागि माटोमा राम्रोसँग सुकेका पातपतिङ्गर, भुस वा कोकोपिट आदि मिसाउनु पर्छ । यसरी मिश्रण गर्दा दुई भाग माटो, एक भाग मल, एक भाग कोकोपिट राखी राम्रोसँग मिश्रण गरी खेती गर्न राम्रो हुन्छ । 

 

माटो भर्ने तरिका– गमला वा प्लास्टिकको भाँडामा माटो भर्नुअघि बढी भएको पानी निकास दिनका लागि माटोमा एक वा दुईवटा प्वाल बनाउन जरुरी छ । माटो बगेर जान नपाओस् भनी प्वाल बनाइसकेपछि प्वालको वरिपरि ढुङ्गा राख्नुपर्छ । तीन इन्च वा गमलाको उचाइ हेरी आधाजति सादा माटो राख्ने । त्यसपछि मल, कोकोपिट मिश्रण गरेको माटो नभरिने गरी राख्ने वा दुई इन्चजति खाली हुने गरी माटो भर्नुपर्छ ।बालीको छनोट– कौसीखेती गर्दा हामीले तरकारी बालीको छनोटमा विशेष ध्यान पु¥याउनु पर्छ । बाली छनोट गर्दा लामो समयसम्म टिपेर खान मिल्ने, छिटो फल्ने बाली रोप्नुपर्छ । जस्तै– साग, गोलभेँडा, भन्टा, बोडी, रामतोरिया, सिमी, प्याज, धनियाँ आदि । 

 

बिरुवा रोप्ने तरिका– हामीले बिरुवा रोप्दा त्यति ध्यान दिँदैनौँ । दुई÷तीन दिनमै मरेर जान सक्छ । माटो भरिसकेपछि बिरुवा रोप्दा पूरा जरा गाड्नु हुँदैन । बिरुवा पहिले माटोमा गाडिएको जति नै गाडेर रोप्नुपर्छ । त्योभन्दा बढी गाडेमा माथिको डाँठ कलिलो हुने हुँदा कुहेर मर्ने डर हुन्छ । पानी दिने तरिका– बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । 

 

फल टिप्ने तरिका– ठूलो फल्छ भनी धेरै समय राख्ने र जथाभावी निमोठ्दा बाली बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले फल फल्न सुरु गरेपछि दुई वा तीन दिनको फरकमा वा आवश्यकता हेरी कैँचीको माध्यमबाट टिप्दा राम्रो हुन्छ ।

 

यसरी सानो प्रयास, समय र विधि मिलाएर तरकारी बाली लागाउन सके कौसीखेतीले आवश्यक तरकारी उत्पादन गरी स्वस्थ जीवनयापन गर्न सहयोग पुग्छ । हरियाली बढेर सहरी वातावरणमा समेत सुधार हुन्छ । हरियो खुर्सानी, हरियो प्याजसमेत हाम्रो देशमा आयात हुने गरेको छ । सबै तरकारीको आयात घटाउन नसके पनि कम्तीमा खुर्सानी र प्याजमा आत्मनिर्भर हुन कौसीखेती गर्न सकिन्छ । यसका लागि सबै मिली खुर्सानी र प्याज मात्र रोप्न सुरु गरौँ ।

 

आत्मनिर्भर बनौँ । स्वच्छ तरकारी खाऔँ । स्वस्थ रहौँ ।  कोरोना सङ्क्रमण नियन्त्रण गर्न बन्दाबन्दी भयो । यो बेला समय बिताउने माध्यमका रूपमा पनि कौसीखेती गर्ने चलन बढ्यो । यो ज्यादै सराहनीय पक्ष हो तर कौसीखेतीलाई व्यवस्थित गर्न सम्बन्धित निकायले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ तथा कौसीखेती गर्ने होडमा दुर्घटना हुनबाट बचाउन पनि ध्यान दिनुपर्छ । 

गाेरखापत्रबाट साभार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।   प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना ग...

थप पढ्नुहोस्

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गु...

थप पढ्नुहोस्

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइत...

थप पढ्नुहोस्