महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा
काठमाडाैं | भदौ १७, २०७९
महेन्द्रनगर : ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा
आउनी रए झानी रए तै लोली गमरा’
बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन ।
“बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु ।” देउडिया पन्तले भन्नुभयो, “दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु ।” दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे । “देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए ।” उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।”
बिहीबार बिरुडा भिजाएर विधिवतरूपमा गौरापर्व सुरु भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । गौरापर्वको सुरुआतसँगै यहाँको माहोल देउडामय बनेको छ । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् ।
महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ ।
गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उहाँले भन्नुभयो, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।
“देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उहाँले पछिल्लो समय यसको महत्व अझ बढेको बताउनुभयो ।
देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताउनुभयो । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”, उहाँले भन्नुभयो, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।” देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उहाँको बताउनुभयो ।
गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन्”, उहाँले भन्नुभयो, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।”
गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भन्नुभयो, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो ।
“देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उहाँले भन्नुभयो, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।” गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

