म्याग्दी र मुस्ताङलाई जोड्ने ‘आइसफल’ पदमार्ग निर्माण सुरु
म्याग्दी | साउन ३१, २०७९
तस्बिर साभार
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुआत भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।
पर्यटन विभागसँग दुई प्याकेजमा रु ७७÷७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नाप जाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताउनुभयो । उहाँका अनुसार, यस वर्ष रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ । आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको कामअघि बढेको कम्पनीले जनाएको छ । पदमार्गअन्तर्गत रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताउनुभयो ।
‘‘दुई मिटर पराकिलो पदमार्ग बनाएका छाँै, यस वर्ष ससलधारादेखि बेसक्याम्प हुँदै कालीबराह र दहबुकीतर्फ पदमार्ग बनाउने योजना रहेको छ, कम्पनीलाई स्थानीयस्तरबाट पदमार्ग बन्नैपर्ने स्थानको बारेमा जानकारी गराइएको छ’’, उहाँले भन्नुभयो । धौलागिरि आइसफल पदमार्गअन्तर्गत कोखेभिर र पापिधर्मी डाँडामा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष यी दुवै भीरमा पदमार्ग निर्माण गर्न सकेमा धौलागिरि आधारशिविर पुग्ने पदमार्गमा पर्यटकको आगमन बढ्ने स्थानीयवासीको भनाइ छ ।
धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्ग र टोड्के, झिँ पाखापानी, कुइनेमङ्गले हुँदै रिखार भएर आधार शिविर पुग्ने ५१ किलोमिटर लामो धौलागिरि सेञ्चुरी पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा कूल एक सय ७३ किलोमिटर लामो पदमार्गको डिपीआर गरिएको र सोही बमोजिम पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारसँग निरन्तर पहल गरिएको उहाँको भनाइ छ । अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।
सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा रुइसे डाँडादेखि धौलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।
म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भइरहेपनि सूचनामुलक संकेत बोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लज निर्माण हुन सकेका छैनन् ।
धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमङ्गले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

