हिंसा पीडित महिलाका लागि पाेखरामा सेफ हाउस सञ्चालन
पाेखरा | जेठ १७, २०८२
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ ।
पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार एक समारोहका बिच उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुने उनले विश्वास समेत व्यक्त गरे ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापन तर्फ अग्रसर गराउने एक सशक्त प्रयासका रूपमा उल्लेख गरेका छन् । पोखरा महानगरपालिका यस किसिमका सामाजिक सरोकारका विषयमा एकल वा साझेदारीमा कार्यहरू गर्न निरन्तर प्रतिबद्ध रहेको उनले बताए ।
पुनर्स्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरेका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुने गरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी परिणाम दिने ढङ्गले अगाडि बढ्नुपर्ने बताए । कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृहका रूपमा केन्द्रको उपयोगिता सार्थक हुनुपर्ने बताइन् ।
पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो वडामा बनेकामा खुसी व्यक्त गरे ।
केन्द्र स्थापनासँगै घर–परिवार तथा समाजबाट उपेक्षामा परेका छोरीहरू, मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाको सुरुवात हुने विश्वास गरिएको छ ।
केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

