लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
कञ्चनपुर | चैत ४, २०८१
कञ्चनपुर: परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ ।
घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे ।
पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे ।
“टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिन्थ्यो ।” हाल ती गहना थोरै महिलासँग मात्र छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उहाँको भनाइ छ ।
पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताउनुभयो । “पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेका छन्”, उहाँले भन्नुभयो, “जनचेतनामा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ, तर पहिरनमा आधुनिकताको छाप भने परेको छ ।”
रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । यसबेला मथुराबाट होलीलाई बोलाउने ९आह्वान० गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ ।
गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताउनुभयो । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिन्छ । आठौँ दिनको बेलुका खखडेहरा खेलिन्छ ।
“यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उहाँले भन्नुभयो, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य गरिन्छ ।” फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवालगायत मात्र जाने चलन छ । यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको छ । उहाँहरूका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हँुदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ ।
पुरूषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिन्छ ।
मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

