गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा | पुस १५, २०८१

गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा:    मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । 

    
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उहाँले बताउनुभयो । 


ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले उक्त प्रमाणपत्र पाउनुभयो । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भन्नुभयो, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” 


नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।

    
सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताउनुभयो ।

    
स्वास्थ्य शिविर भेटिनुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिनुभयो । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो, “पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।” 

    
वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी हुनुभएको छ । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।

    
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।

    
तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो ।

    
शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो । 


“तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।”

    
चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ । 

    
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई”, अधिकारीले भन्नुभयो, “त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।”

    
मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताउनुभयो ।

    
“नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्