कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता डा. महत

काठमाडाैं | मंसिर १२, २०८१

कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता डा. महत तस्बिर फाइल

काठमाडौं:     नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ । 

नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।
     
    
प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । 


“निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
     
    
नेता डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभयो । 


उहाँले भन्नुभयो, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।” पार्टीभित्र विपक्षी खोज्ने प्रवृत्ति पार्टीको प्रमुख समस्या भएको उहाँको भनाई थियो । 

    
“हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एकअर्काबीचमा कुरा काट्ने र वैमनस्य उत्पन्न गर्न समय खर्चने हो । आफ्नै भित्र विपक्षी खोज्छौँ र विपक्षीसँगको प्रतिस्पर्धालाई बिर्सन्छौँ । अब, एक भएर अघि बढ्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो”, नेता डा महतले भन्नुभयो ।
     
    
सङ्घका अध्यक्ष दीपक महतले उम्मेदवार पाठकको प्रचार अभियानमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै विगतमा वडामा भएको कामको प्रभावले जीत निश्चित हुने दाबी गर्नुभयो । 


“पर्यटन व्यवसायीकोतर्फबाट  देवेन्द्र पाठकलाई विजयी गराउन प्रतिवद्धताका साथ मत मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमा सहयोग पु¥याउनु दायित्व पनि हो । उम्मेदवारलाई आट भरोसा दिन पनि यो कार्यक्रम गरिएको हो । त्यसैले निर्धक्क भएर उच्च मनोवलका साथ निर्वाचनमा लाग्न आग्रह गर्दछु ।”
     
    
उम्मेदवार देवेन्द्र पाठकले आफू नेतृत्वमा रहँदा पर्यटन क्षेत्रलाई सहजीकरण गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, “वडामा कांग्रेसको वर्चस्व कायम रहेको छ, तर एकदमै प्रतिस्पर्धामा छौँ । हालसम्मको प्रयास उत्साहजनक छ, बाँकी दिनमा अझ मेहनत गर्न सकेको खण्डमा अत्याधिक मतसहित विजय हासिल गर्न सक्छौँ ।”

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्