सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ: सभापति देउवा
काठमाडाैं | मंसिर १०, २०८१
धनुषा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ ।
आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्व अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले स्व ठाकुरको योगदान स्मरण गर्नुभयो ।
लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका प्रजातान्त्रिक योद्धा स्व ठाकुर जस्ता नेताकै कारण मुलुकमा सङ्घीय लोकतन्त्र प्राप्त भएको उहाँले बताउनुभयो ।
सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो । त्यसका लागि सङ्घीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरुले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व ठाकुरको सपना साकार पार्न सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले मन्तव्य राख्नुभएको थियो ।
रु २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली कांग्रेसका सभापति देउवाले स्व ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

