देवकोटा जयन्तीमा गुञ्जिए कविता

बाग्लुङ | कात्तिक १६, २०८१

देवकोटा जयन्तीमा गुञ्जिए कविता

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले
डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’

कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ।

बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर बिहीबार आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उहाँसहित दर्जनजति कविका कविता गुञ्जिए ।

शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितिय स्थान प्राप्त ग¥यो । 

 

कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गर्नुभयो । छन्दोबद्ध शैलीमा उहाँले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे । हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णगण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गर्नुभयो ।  


‘बग्छिन्, चेली हिमाली यी 
नाम काली पुकारियो

खेग्दै गिरि शिलासाथ
हिँड्ने बानी छँदै थियो

दरौँदी र त्रिशुलीका प्रवाह
यिनका सखी

कल्याणी हुन् यी सबैकी
सुन्दरी कृष्णागण्डकी...”

 

कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त ग¥यो । कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमासबीचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कलाई कवितामार्फत अभिव्यक्त गर्नुभयो ।

 

‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उहाँले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याउनुभयो । कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गर्नुभयो । 

  

 ‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति
    नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति
    हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला
    झुल्को किरणको प¥यो हिमालमा मोती भए पहेँला...’

 

आचार्यका कविताका हरफ हुन् यी । उहाँको कविताले तृतीय स्थान हासिल गर्न रह्यो । गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदीलगायतले कविता वाचन गर्नुभएको थियो ।

 

स्रष्टाहरुले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए । 

 

कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए ।

 

धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा चित्रित गर्नुभयो । 

 

पाण्डेयले बहुआयमिक प्रतिभाका धनी देवकोटा जत्तिको व्यक्तित्व न पहिले रहेको र भविष्यमा पनि पाउन मुश्किल हुने उल्लेख गर्नुभयो ।

 

वरिष्ठ साहित्यका प्रेम छोटाले विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताउनुभयो ।

 

संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता जस्ता विशेषताका कारण देवकोटाका सिर्जना शसक्त रहेको उहाँको भनाइ छ । 

 

नेपाली जनजीवनका भोगाइलाई सरल  र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको छोटाले बताउनुभयो ।

 

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’ले महाकवि देवकोटालगायत विशिष्ट साहित्यिक प्रतिभाहरुको जन्मजयन्ती मनाएर पुस्तकालयले सह्रानीय कार्य गरेको बताउनुभयो ।

 

देवकोटा जयन्ती संयोजक समितिका संयोजक काजी रोशनले पुस्तकालयले साहित्यकाहरुका जयन्ती नियमित रुपमा मनाउँदै आएको बताउनुभयो । 

 

प्रतियोगिता कविता गोष्ठीका विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ ।

 

विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरु देखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ ।

 

विसं २०६२ मा देवकोटा जयन्ती संयोजन समिति नै बनाएर यस जयन्तीलाई अझ व्यवस्थित रुपमा मनाउन सुरु गरिएको हो ।
 

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।   शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।  बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...

थप पढ्नुहोस्

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...

थप पढ्नुहोस्

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...

थप पढ्नुहोस्