मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र

मुस्ताङ | असोज २२, २०८१

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

 

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

 

वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

 

“लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो”, उनले भने, “उपचार केन्द्र प्रभावकारी बनेका छन् ।”

 

मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताए ।

 

रानीपौवाबाट  मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो ।

 

सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए ।

 

उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ ।

 

बिहान ६:०० देखि दिउँसो ३:०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८–७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०–८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए ।

 

लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् ।

 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।
 

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्