दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँ | असोज २१, २०८१

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दमौली:  दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

 

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो ।

 

अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौँ ।”

 

स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुन: आउने गरेका छन् ।”

 

मानुङकोट घुम्न पुग्नुभएका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ ।”

 

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् ।

 

विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ ।

 

रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

 

मानुङकोटबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुन: फर्किएर व्यवसाय गर्न थालेका छन् ।

 

यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए ।

 

बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो ।

 

अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताउनुभयो । उहाँका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

इनरुवा (सुनसरी):   सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो ।   उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातक...

थप पढ्नुहोस्

तनहुँ:  व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।   ग १ त ...

थप पढ्नुहोस्

दमौली:  दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।   व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ...

थप पढ्नुहोस्