वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा

काभ्रेपलाञ्चोक | असोज ५, २०८१

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा

काभ्रेपलाञ्चोक:     नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताउनुभएको छ । 


उहाँले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।


“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो । 


उहाँले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । 


उहाँले भन्नुभयो, “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उहाँले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताउनसभयो ।

 
सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताउनुभयो । 


“अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भन्नुभयो ।

 
सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताउनुभयो । “नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उहाँले भन्नुभयो । हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उहाँको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि १ त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”, उहाँले थप्नुभयो ।


सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याउनुभयो । उहाँले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठूलो गौरवको विषय हो ।”


कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपीपुत्र डा शसाङ्क कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । 


उहाँले भन्नुभयो, “कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।” उहाँले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गर्नुभयो ।

 
पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्तअनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरीब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाईएको बताउनुभयो । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बिपी कोइराला कमकालीन राजनीतमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उहाँले विचार आदर्श कहिल्यै नमर्ने धारणा राख्नुभयो ।
 

पार्टीका अर्का केन्दीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतत्न्त्र बलियो बनाउन उहाँको आदर्श पछ्याउनुपर्ने बताउनसभयो । 


यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णयअनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तिर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गर्नुभएको थियो । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्