दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र
सुर्खेत | भदौ २०, २०८१
सुर्खेत: पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ ।
तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै मितिमा हुने नहुनेमा अन्यौलता छाएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब करिब साढे दुई महिनामात्र बाँकी छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सरकार परिवर्तन भएसँगै प्रतियोगिता केही समय पछाडि धकेलिने चिन्ता व्यक्त गरिएको छ ।
केही दिनअघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आउनुभएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी नपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने सङ्केत देखिएको हो ।
मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ भने प्रदेश खेलकुद विकास परिषद्ले एक सय दिनको काउन्टडाउन पनि सुरु भएको बताएको छ । सो कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले सबै तयारी पुगेपछि मात्रै दिनगन्ती गर्न सुरु गर्नुपर्ने बताउनुभएको थियो ।
कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने प्रतियोगिता पूर्वाधारले सार्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।
“दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रङ्गशाला हो, रङ्गशालाको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी असोजभित्रमा सम्पन्न भइसक्छ, त्यसैले पूर्वाधारका कारण प्रतियोगिता सार्नुपर्ने अवस्था छैन । प्रतियोगिताका लागि २४ खेल खेलाइने पूर्वाधार करिब पूरा भएको छ, तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न सकिन्छ ।” आफू अनुकूलका पदाधिकारी नियुक्तिपछि मात्रै प्रतियोगिता गर्ने रणनीति बनाएको जनाउँदै सरोकारवालाले तोकिएकै समयमा प्रतियोगिता गर्न माग गरेका छन् ।
दशौँ राष्ट्रिय खेलुकद प्रतियोगिताअन्तर्गत कर्णालीमा खेलाउन सकिने खेलको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिता तोकिएकै मितिमा हुने वा नहुने भन्ने प्रष्ट नहुँदा खेलाडी पनि अन्यौलमा परेको कराँते प्रशिक्षक प्रदीप राई बताउनुहुन्छ ।
“प्रदेश सरकार त तयारी अवस्थामा भएको जस्तो देखिन्छ, तर सङ्घीय सरकारले भने प्रतियोगिता तोकिएकै मितिमा हुने नहुने भन्ने प्रष्ट पार्न नसकेको जस्तो देखियो”, उहाँ भन्नुहुन्छ, “प्रतियोगिता तोकिएकै मितिमा हुनुपर्छ खेलाडी अनि हामी प्रशिक्षक पनि त्यहीअनुसार लागिरहेका छौँ ।”
प्रतियोगिताको लागि खेलाडीहरुले अहिले तयारी गरिरहेका छन् । तोक्वान्दो खेलाडी नरेन्द्र रावत बन्द प्रशिक्षकमा बसेको दुई महिना भइसकेको बताउनुहुन्छ । अहिले तयारी गरिरहेको बताउँदै उहाँले प्रतियोगिता सहभागी हुने खेलाडीलाई अन्यौलता सिर्जना नगर्न सुझाव दिनुहुन्छ ।
“हामी अहिले तयारीका लागि बन्द प्रशिक्षणमा छौँ, खेलाडीको पीरमर्का पनि सरकारले बुझ्न सकेको छैन, प्रतियोगिता तोकिएकै समयमा हुनेमा शङ्का उत्पन्न भएको छ ।” अर्का खेलाडी दिप्ती नेपाली पनि प्रतियोगिता समयमै हुनुपर्ने बताउनुहुन्छ । आफूहरुलाई विभिन्न कोचसँगै ‘मोटिभेसनल’ तालिम आवश्यक रहेको उहाँको माग छ । राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनुपर्ने जनाउँदै कर्णाली प्रदेशसभामा सदस्यले माग गरेका छन् ।
खेलकुद परिषद्का सदस्य तथा पदाधिकारीको पदावधि नसकिँदै प्रतियोगिताको समय आएपछि यसअघि पनि प्रतियोगिता सार्ने गरिएको दृष्टान्त रहेको छ । अहिले कर्णाली प्रदेशसभामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नै हुनुपर्ने सांसदहरुले माग गरेका छन् ।
प्रदेशसभा सदस्य, कृष्णबहादुर जिसीले प्रतियोगिता नजिकिँदै गर्दा आयोजक सङ्घीय सरकार सुतेर बसेको भन्दै अब उठ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले एक सय दिने ‘काउन्डाउन’ सुरु गरिसक्यो, आयोजक सङ्घीय सरकार सुतेर बसेको छ, यसले गर्दा प्रतियोगिता समयमै सम्मपन्न हुन्न कि भन्ने आशङ्का जन्माएको छ, म सङ्घीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छु भने प्रदेश सरकारलाई पनि आवश्यक समन्वय गर्न अनुरोध गर्दछु ।”
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

