विष्णु माझीको गीत आउँछ अनि बल्ल तीज आउँछ !

पाेखरा | भदौ ११, २०८१

विष्णु माझीको गीत आउँछ अनि बल्ल तीज आउँछ !

गण्डकी:    लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ युट्युबमा सार्वजनिक हुँदासाथ वरिष्ठ गीतकार राजेन्द्र थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !”


उक्त गीतको युट्युब भिडियो फेसबुकमा साझा गर्दै उहाँले अचानक मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे वर्षा भएको भन्दै बिम्वात्मक शैलीमा गीतप्रति टिप्पणी गर्नुभयो । तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उहाँको भनाइ छ ।   


गायक एवं सङ्गीतकार बसन्त थापा पनि माझीको तीज गीत आउँदा उत्साहित बन्नुभयो । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो...” फेसबुकमा उहाँले लेख्नुभएको छ । उहाँको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेख्नुभएको छ– “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।”
 

सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तैउस्तै छ– “साँच्चै हो नि विष्णु माझीको तीज गीत नआएसम्म तीज गीत आएजस्तो हुँदैन ।” शनिबार ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियोलाई युट्युबमा ३० लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।

 


तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमा १८ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो । 


“महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।” विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । 


यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पु¥याएकामा लोकसङ्गीतप्रेमीले विरोध जनाए । 


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्कित गर्दै उहाँले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत पनि त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझी जस्ता कलाकारका गीतले उनीहरु निरुत्साहित बनेको उहाँको भनाइ छ । 


वरिष्ठ लोकगायिका हरिदेवी कोइराला पनि तीजमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उहाँको बुझाइ छ । 


पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । 


गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ । गीतको भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा..’ पनि त्यो बेला चर्चित बनेको थियो । 


उक्त गीतले हालसम्म युट्युबमा पाँच करोड बढी ‘भ्यूज’ बटुलीसकेको छ । उहाँ र गायक कुलेन्द्र विश्वकर्माले पाँच वर्षअघि गाएको ‘सालको पातको टपरी...’ गीत युट्युबमा सबैभन्दा बढी हेरिएको लोकदोहोरीमा पर्छ । उक्त गीतको भिडियोलाई अहिलेसम्म नौ करोड ६० लाख भन्दा बढीपटक हेरिएको छ । सार्वजनिक रुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीतहरु दिइरहनुभएको छ ।
 

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्